बैतडी – दोस्रो चरणको स्टार्टअप उद्यम कर्जा परियोजनाका लागि बैतडीका ६३ ओटा परियोजना प्रारम्भिक सूचीमा परेका छन् ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यमका लागि परेका प्रस्तावमध्ये देशभरीबाट १३ सय १४ वटा परियोजनालाई प्रारम्भिक सूचीमा छनौट गरेको छ । ती मध्ये ६३ ओटा परियोजना बैतडीका रहेका छन् ।
प्रारम्भिक सूचीमा परेका बैतडीका परियोजना मध्ये धेरै जसो कृषि फर्म रहेका छन् । त्यस्तै घरेलु उद्योग, सिलाई सेन्टर लगायत पनि परियोजनाको प्रारिम्भक सूचीमा अटाएका छन् ।
कर्जा परियोजनाको लागि पाँच हजारभन्दा धेरै आवेदन परेकोमा कृषि फार्म, होस्टेल, घरेलु उद्योग, सूचना प्रविधि क्षेत्र लगायतलाई प्राथमिकता दिएर प्रारम्भिक सूचीमा छनौट गरिएको प्रतिष्ठानले जनाएको छ ।
प्रारम्भिक सूचीमा परेका परियोजनाका सञ्चालकहरुलाई प्रतिष्ठानले प्रस्तुतिकरणका लागि बोलाएको छ । प्रस्तुतिकरणका लागि यही पुस २८ गतेदेखि आउँदो चैत ११ गतेसम्मको समय तोकिएको छ ।
‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१’ अनुसार छनौट भएका उद्यम तथा परियोजनालाई धितो मानेर ३ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म स्टार्टअप कर्जा पाउन सकिने व्यवस्था छ ।
कर्जा अवधि बढीमा ५ वर्षको हुनेछ भने कर्जाको पहिलो किस्ता लिएको १ वर्षपछि सावाँ या ब्याजको रकम फिर्ता गर्न शुरू गर्नुपर्ने हुन्छ ।
सरकारले नवीनतम् ज्ञान, सोच, सीप र क्षमता भएको उद्यमीलाई स्टार्टअप उद्यममा संलग्न गराउन सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने व्यवस्था गरेको हो । कार्यविधि बमोजिम कर्जा प्राप्त गर्न उद्यम व्यवसाय दर्ता भई १० वर्ष ननाघेको हुनुपर्नेछ ।
प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी वा सहकारी संस्था उद्योगको रुपमा उद्योग दर्ता गर्ने निकायमा दर्ता भएको हुनुपर्नेछ ।
यस्तै उद्यम व्यवसाय स्थापना भएपछिको कुनै पनि आर्थिक वर्षमा वार्षिक कारोबार १५ करोड रुपैयाँ ननाघेको, सञ्चालित उद्यम व्यवसाय नगाभिई वा नटुक्रिई नयाँ उद्यम व्यवसाय गरेको, नवीन एवम् सिर्जनशील सोचलाई उद्यम व्यवसायको रूपमा रूपान्तरण गरी तीव्र वृद्धिको सम्भावना भएका उद्यमले यस्तो कर्जा पाउनेछन ।





