
बैतडी –बैतडीको दशरथचन्द नगरपालिका–५ स्थित दशरथचन्द मावि सुन्दरखालीमा ‘कौशल्यादेवी कार्की स्मृति शैक्षिक छात्रवृति’ कोष स्थापना गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष क्याप्टेन टेकसिंह कार्की र स्वर्गीय कौशल्यादेवी कार्कीका छोराहरु मदनसिंह कार्की, मोहनसिंह कार्की र प्रदीपसिंह कार्कीले संयुक्त रुपमा आफ्नी आमाको नामबाट छात्रवृति कोष स्थापना गरेका हुन् ।
दुई लाख पचास हजार बराबरको उक्त अक्षयकोषबाट प्राप्त ब्याजको रकमलाई विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिने विद्यालयका प्रधानाध्यापक नरेन्द्रबहादुर चन्दले बताए । मंगलबार विद्यालय छात्रवृति कोष स्थापना गरिएको उनले बताए । अहिले तीन महिनाका लागि राष्ट्रिय वाणिज्य बैंकमा दुई लाख ५० हजार जमा गरिएको र तीन महिनापछि उक्त कोषलाई ५ लाख पुर्याउने लक्ष्य रहेको बताइएको छ ।
उक्त छात्रवृति कोषबाट कक्षा ६ का एक जना छात्र र एक जना छात्रालाई छनौट गरी उनीहरुलाई कक्षा १२ सम्म अध्ययन गर्न छात्रवृति प्रदान गरिने प्रधानाध्यापक चन्दले बताए । दुई जना छात्रछात्रालाई कक्षा १२ सम्म अध्ययन गर्न लाग्ने सम्पूर्ण खर्च उक्त कोषबाट प्रदान गरिने प्रधानाध्यापक चन्दले बताए ।
यस्तै सोही कोषबाट कक्षा ११ र १२ मा अध्ययन गर्ने एक –एक जनालाई हरेक बर्ष छात्रवृति प्रदान गरिने बताइएको छ । विद्यालयमा स्थापना भएको यो कोषले विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई शिक्षा ग्रहणमा सहजता हुने भएकाले विद्यालय परिवारले धन्यवाद समेत ज्ञापन गरेको छ ।
दशरथचन्द मावि सुन्दरखालीमा यसअघि पनि प्रत्येक बर्ष विभिन्न समयमा स्थापना भएका अक्षयकोषबाट २७ जना विद्यार्थीहरुलाई छात्रवृति प्रदान हुँदै आएको छ ।
विपन्न तथा जेहेन्दार विद्यार्थीहरुको पठनपाठनमा सहयोग पुर्याउनका लागि विद्यालयमा स्थापना गरिएका छात्रवृति कोषहरुले विद्यार्थीहरुलाई सहज भएको प्रधानाध्यापक चन्दले बताए ।
दशरथचन्द माविले पदमराज भट्ट स्मृति शैक्षिक छात्रवृति हरेक बर्ष ८ जना विद्यार्थीलाई प्रदान गर्दै आएको छ । यस्तै मैनेजर तेजबहादुर चन्द स्मृति शैक्षिक छात्रवृति पनि हरेक बर्ष ८ जनालाई विद्यार्थीहरुलाई प्रदान गर्ने गरिएको प्रधानाध्यापक चन्दले बताए । कक्षा ११ र १२ अध्ययनरत विद्यार्थीहरुलाई प्रति विद्यार्थी दुई हजारका दरले दुवै छात्रवृति प्रदान गर्ने गरिएको प्रधानाध्यापक चन्दले बताए ।
यस्तै प्रेमसिंह रावल एवं कलावती रावल स्मृति शैक्षिक छात्रवृति हरेक बर्ष एकजनालाई प्रदान हुँदै आएको छ । यो छात्रवृतिको राशी ५ हजार रुपैयाँ रहेको छ । उक्त छात्रवृति कक्षा ९ देखि १२ सम्म एकैजना विद्यार्थीलाई प्रदान गर्ने गरिएको छ । कक्षा ९ मा छनौट भएको विद्यार्थीलाई निरन्तर रुपमा कक्षा १२ सम्म उक्त छात्रवृति प्रदान गर्ने गरिएको प्रधानाध्यापक चन्दले बताए ।
यस्तै तारासिंह रावल स्मृति शैक्षिक छात्रवृति कक्षा ११ र १२ मा अध्ययनरत ५ जनालाई २ हजारका दरले प्रदान गर्ने गरिएको प्रधानाध्यापक चन्दले बताए ।
यस्तै यसै बर्ष स्थापना भएको नारायणदत्त भट्ट एवं जयमतीदेवी भट्ट स्मृति शैक्षिक छात्रवृति कक्षा ६ देखि १० सम्मका ६ जनालाई १ हजार ५५ रुपैयाँका दरले प्रदान गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयका स्थापना भएका छात्रवृति अक्षयकोषले विपन्न र जेहेन्दार विद्यार्थीहरुलाई सहयोग पुगेको विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष पार्वती चन्दले बताइन् ।