
काठमाण्डौ – वामपन्थी नेता एवम् पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । पार्किन्सन्स रोगबाट पीडित नेपालको उपचारका क्रममा आज दिउँसो काठमाण्डौको थापाथालीमा रहेको नर्भिक अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
७१ वर्षीय नेपाल लामो समयदेखि पार्किन्सन्स रोगबाट पीडित थिए । केही दिनअघि अस्पताल भर्ना भए पनि आज उनलाई आईसीयूमा सारिएको थियो ।
नेता नेपाल २०१० साल पुस २८ गते भोजपुरको गोगने गाउँमा जन्मिएका । एमाले वृत्तमा कडा मिजासका बौद्धिक नेताको परिचय बनाएका उनले २०२६ सालमा सगरमाथा स्वतन्त्र विद्यार्थी युनियनको सदस्य भएर राजनीतिक जीवनको शुरुआत गरेका थिए ।
नेपाल सूचना तथा सञ्चार, जलस्रोत, स्वास्थ्य तथा शिक्षा तथा खेलकुदमन्त्री बनेका थिए । साहित्यकारसमेत रहेका नेपालले उपन्यास, कथा, गीत, नियात्रालगायतमा कलम चलाएका थिए ।