Sagun Khabar
टेरामक्स प्रकरणमा कांग्रेस सांसद मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जना व्यक्ति र दुई वटा कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

राज्यको सम्पत्तिको दुरुपयोग गरी हानि/नोक्सानी पुर्‍याएको ठहर गर्दै अख्तियारले आज उनीहरूसँग जनही ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १ सय ८२ रुपैयाँ बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले कांग्रेस नेता बस्नेतसहित दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्षहरू दिगम्बर झा र पुरुषोत्तम खनाल, प्राधिकरणकै तत्कालीन सदस्यहरू धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती, प्राधिकरणका निर्देशकहरू विजयकुमार राय, सुरेन्द्रलाल हाडा र दिपेश आचार्य तथा उपनिर्देशकहरू रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद वस्ताकोटी, अच्युतानन्द मिश्र र सन्दीप अधिकारीविरुद्ध मुद्दा दायर गरेको हो ।

यस्तै परामर्शदाता कम्पनी भ्यानराइज सोलुसन्स (एसएएल अफसोर) र कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जमाल अनौती, स्थानीय एजेन्ट कनेक्सन ट्रेड लिङ्क प्राइभेट लिमिटेड र कम्पनीका अध्यक्ष दिलिपकुमार गुरुङ तथा निर्देशक तेजप्रसाद खरेलविरुद्ध मुद्दा दायर भएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  १३:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update