
काठमाण्डौ – आज जेठ १९, दरबार हत्याकाण्ड भएको २४ वर्ष पूरा भएको छ । २०५८ साल जेठ १९ गते दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुतीलगायतको निधन भएको थियो ।
तत्कालीन युवराज दीपेन्द्रले परिवारका सदस्यहरुलाई गोली हानेर पछि आफैँलाई गोली हानेको भनेर छानबिन प्रतिवेदन सार्वजनिक गरिए पनि धेरैले यसको विश्वास गरेका छैनन् ।
दरबार हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय संयोजक र तत्कालीन सभामुख तारानाथ रानाभाट सदस्य रहेको उच्चस्तरीय छानबिन समिति गठन भए पनि त्यसपछि यसबारे कुनै स्वतन्त्र अनुसन्धान भएको छैन ।
नारायणहिटी दरबार हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते देशबाट राजतन्त्र समाप्त भएर गणतन्त्र स्थापनाको घोषणा भएको थियो । पूर्वराजा वीरेन्द्रको परिवार मारिएको सम्झनामा आज विशेष कार्यक्रम गरी स्मृति दिवस मनाइँदैछ ।