बैतडीका विभिन्न स्थानमा चट्याङ लाग्दा पशुचौपायाको मृत्यु हुनुका साथै जिल्लाभरको विद्युत् सेवा प्रभावित भएको छ ।
जिल्लाको दशरथ चन्द नगरपालिका–२, देहिमाण्डौमा सोमबार दिउँसो करिब ३ः ३० बजे चट्याङ पर्दा स्थानीय भुवन बोहराका दुईवटा बाख्राको मृत्यु भएको छ । वनबाट बाख्रा चराएर घरतर्फ ल्याउँदै गरेको अवस्थामा परेको चट्याङले अन्य एक बाख्रा घाइते भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, सुर्नया गाउँपालिका–७, झाड्बोमा मंगलबार बिहान करिब ४ बजे डम्मर महराको घरमा चट्याङ पर्दा एउटा भैँसी र एउटा बाख्राको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक बल्देव बडुका अनुसार यी दुवै घटनामा मानवीय क्षति भने भएको छैन ।
सोमबार चलेको हावाहुरी र चट्याङका कारण जिल्लाको विद्युत् प्रणालीमा समस्या आएको छ । विद्युत्का उपकरण र प्रसारण लाइनमा क्षति पुगेपछि सोमबारदेखि नै जिल्लाका अधिकांश क्षेत्रमा विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। विद्युत् नहुँदा स्थानीयको जनजीवन, सञ्चार सेवा र दैनिक कामकाज प्रभावित भएको छ ।
हालसम्म जिल्लाभर चट्याङबाट पशुचौपाया र भौतिक क्षति भए पनि मानवीय चोटपटकको खबर प्राप्त नभएको प्रहरीले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणले अवरुद्ध सेवा पुनः सुचारु गर्न प्रयास गरिरहेको बुझिएको छ ।





