बैतडी–बैतडीमा आज दिउँसो पानीसँगै आएको हावाहुरीले विद्यालय भवनका छाना उडाएको छ । पाटन नगरपालिका–२ सिलङ्गास्थित सिद्धनाथ माविका तीनओटा दुई कोठे भवनका छाना उडाएको विद्यालयका प्रधानाध्यापक लक्ष्मण बोहराले बताए ।
दिउँसो ४ बजेतिर पानीसँगै आएको भीषण हावाहुरीले विद्यालयका भवनका छाना उडाएको उनले बताए । जस्तापाताले छाएका दुईओटा र पत्थरले छाएको एक भवनको छाना हावाहुरीले उडाएको प्रधानाध्यापक बोहराले बताए ।
विद्यालयका दुई कोठे तीनओटा भवनका क्षति पुगेपछि पठनपाठनमा समस्या हुने देखिएको छ । प्राथमिक तहका बालबालिकाहरुको पठनपाठन हुँदै आएका कक्षाकोठाहरु क्षतिग्रस्त भएपछि पठनपाठन कसरी अगाडि बढाउने भन्ने चिन्ता थपिएको प्रधानाध्यापक बोहराले बताए । उनले भने, ‘भोलिदेखि नै विद्यालयमा पठनपाठनमा समस्या आउने देखिएको छ । बालबालिकाहरुलाई कहाँ राखेर पढाउने भन्ने चिन्ता छ ।’
क्षतिग्रस्त विद्यालय भवन पुननिर्माणमा सहयोग गरिदिन सरोकारवाला सबैलाई आग्रह समेत गरिएको प्रधानाध्यापक बोहराले बताए ।
यस्तै पाटन नगरपालिका–६ सुकेलीस्थित भगवती आधारभूत विद्यालयको तीन कोठे भवनको छाना हावाहुरीले उडाएको छ । जस्तापाताले छाएको उक्त भवनको छाना हावाहुरीले उडाएको हो ।
विद्यालय भवनको छाना उडाएपछि पठनपाठनमा समस्या हुने देखिएको छ ।
यस्तै पानीसँगै आएको हावाहुरीले पाटन बजार क्षेत्रका केही पसलमा समेत क्षति पुगेको बताइएको छ ।





