
काठमाण्डौ – कारागार व्यवस्थापन विभागले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला कारागारबाट नक्खु कारागारमा स्थानान्तरण गरेको छ । हिजोको निर्णय अनुसार लामछिानेलाई नक्खु कारागारमा स्थानान्तरण गरिएको विभागले जनाएको छ ।
रुपन्देहीको कारागारमा लामिछानेलाई नाजुक अवस्थामा राखेको भन्दै विरोध भएपछि विभागले स्थानान्तरण गरेको हो । लामिछानेले तीन महिना अघि नै आफूलाई नख्खुमा स्थानान्तरण गर्न अनुरोध गरेका थिए । पछिल्लो हप्ता सञ्चारमाध्ययमहरुमा रवि लामछिानेलाई सामान्य सुविधा पनि नदिएको, समाचार पढ्न र भेटघाट गर्न रोकेको जस्ता विषय सार्वजनिक भए पनि राष्ट्रिय मानव अधिकार आयोगको टोलीले अनुगमन गरेको थियो ।
आयोगले लामिछानेले जेलमा आधारभूत मानव अधिकार उपभोग गर्न नपाएको बताएपछि सरकारलाई दबाब परेको हो । यस्तै रुपन्देहीमा उपचुनावको प्रचारप्रसार समेत शुरु भएकोले पनि सरकारले लामिछानेलाई स्थानान्तरण गरेको हुनसक्ने रास्वपाले जनाएको छ ।
कारागार प्रशासनले रुपन्देहीमा जेलको पूर्वाधार, सुरक्षा चुनौती र कैदीबन्दीको चापका कारण लामिछानेलाई उचित सुविधा दिन नसकिएको दाबी गरेको थियो । तर नक्खु कारागारमा पनि क्षमताभन्दा धेरै कैदीबन्दी छन् । नख्खुमा सुविधा केही फरक हुन सक्ने कारागार व्यवस्था विभागका महानिर्देशक लीलाप्रसाद शर्माले बताए ।
रुपन्देहीको सूप्रीम बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलनमा लामिछानेविरुद्धको मुद्दा रुपन्देही जिल्ला अदालतमा विचाराधीन छ । त्यही मुद्धामा लामिछाने पूर्पक्षका लागि थुनामा रहेका हुन् ।
तीनवटै तहका अदालतमा पुनरावेदनको ढोका बन्द भएपछि लामिछानेले मुलुकी अपराध कार्यविधि संहिताको अर्को व्यवस्थाअन्तर्गत आफूलाई थुनामुक्त गर्न एक हप्ताअघि निवेदन दिएका थिए ।
रुपन्देही जिल्ला अदालतले गएको हप्ता उनको पछिल्लो निवेदन अनुसार थुनामुक्त गर्न अस्वीकार गरेको छ । लामिछानेको दल रास्वपाले राज्यले प्रतिशोध साँधेर मुद्दा चलाएको दाबी गर्दै आएको छ ।