Sagun Khabar
नवनियुक्त तीन मन्त्रीले लिए शपथ 

काठमाण्डौ – अर्थमन्त्री रामेश्वर खनाल; ऊर्जा, जलस्रोत तथा सिँचाइ भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानून, न्याय तथा संसदीय मालिलामन्त्री ओमप्रकाश अर्यालले शपथ लिएका छन् । 

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिशमा नियुक्त भएका तीनै जनालाई राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराएका हुन् ।  अब मन्त्रिपरिषद् प्रधानमन्त्रीसहित चार सदस्यीय बनेको छ ।

अर्थमन्त्रीमा नियुक्त रामेश्वर खनाल पूर्व अर्थसचिव एवम् अर्थविद् हुन् । तात्कालिक अर्थमन्त्री भरतमोहन अधिकारीसँग मतभिन्नता उत्पन्न भएपछि उनले पदबाट राजीनामा दिएका थिए । उनी अघिल्लो सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव सिफारिश आयोगका अध्यक्ष थिए ।  आयोगले केही महिनाअघि सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको थियो ।

यस्तै इन्जिनियर रहेका कुलमान घिसिङलाई केही महिनाअघि केपी शर्मा ओली सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको थियो । नेपालबाट लोडशेडिङ हटाएको श्रेय दिइने गरेका घिसिङलाई निकै लोकप्रिय मानिन्छ ।

ओमप्रकाश अर्याल कानून व्यवसायी हुन् । उनले  भ्रष्टाचार विरोधी अभियानकर्मीको छवि बनाएका छन् । उनी यसअघि काठमाण्डौ महानगरका कानूनी सल्लाहकार थिए । 
 

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update