Sagun Khabar
लामो दूरीका गाडी सञ्चालन खुकुलो बनाउने सरकारको निर्णय, जोमिखयुक्त ठाउँमा रात्रिबस चलाउन अझै रोक

 सरकारले लामो दूरी र काठमाण्डाै भित्रिने तथा बाहिरिने गाडी सञ्चालनमा लगाइएको रोकावट खुकुलो पार्ने निर्णय गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशन अनुसार मनसुन प्रतिकार्य कमान्ड पोस्ट बैठकले अवरोध नभएका सडकमा गाडी चलाउन दिने निर्णय गरेको हो ।

यस्तै बैठकले अवरुद्ध सडकहरूको मर्मत–सम्भार गरी तत्काल खुलाउन सडक विभागलाई लेखी पठाउने निर्णय पनि गरेको छ । त्यसैगरी अत्यावश्यक सेवा राजमार्गमा रोकिएका मालवाहक र यात्रुवाहक गाडी तथा छोटो दूरीमा सञ्चालन हुने गाडीको हकमा स्थानीयस्तरको विपद् जोखिमको अवस्थालाई दृष्टिगत गरी अन्तरजिल्ला समन्वयमा आवागमन नियमित गर्न स्थानीय प्रशासनलाई निर्देशन दिने निर्णय भएको छ ।

अर्को सूचना जारी नहुन्जेलसम्मका लागि जोखिमयुक्त राजमार्ग र सडकमा रात्रिकालीन बस सेवा सञ्चालन नगर्न/नगराउन स्थानीय प्रशासनलाई निर्देशन दिनेसमेत निर्णय भएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालयले निर्णय गरेर दिउँसोदेखि नै काठमाण्डौ भित्रिने र बाहिरिने गाडीलाई सञ्चालनको अनुमति दिएको थियो । सरकारले काठमाण्डौ उपत्यका भित्रिने र बाहिरिनेसहित लामो दूरीका गाडी सञ्चालनमा रोक लगाएकोमा वर्षा रोकिएसँगै गाडीहरूलाई गन्तव्यमा पठाउन थालेको हो ।

प्रकाशित मिति: आइतबार, असोज १९, २०८२  १८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update