Sagun Khabar
नवनियुक्त दुई मन्त्रीको शपथ, मन्त्रिपरिषद् १० सदस्यीय बन्यो

काठमाण्डौ – नवनियुक्त दुई जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतम र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई शपथ ग्रहण गराएका हुन् । 

यसअघि प्रधानमन्त्री सुशीला कार्कीले गणपतिलाल श्रेष्ठ र खगेन्द्र सुनारलाई पनि मन्त्रीमा सिफारिश गरेकी थिइन् । तर अदालतमा मुद्दा विचाराधीन रहेको सार्वजनिक भएपछि प्रधानमन्त्री कार्कीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा सिफारिश सुनारको नाम हटाइन् । यस्तै भूमि व्यवस्था तथा सहकारीमन्त्रीमा सिफारिश गरिएका श्रेष्ठको नाम अन्तिम समयमा फिर्ता भएको छ । श्रेष्ठको नाम फिर्ता हुनुको कारण खुलाइएको छैन ।

योसहित कार्कीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेकी हुन् । अब मन्त्रिपरिषद् १० सदस्यीय बनेको छ । आज नियुक्त स्वास्थ्यमन्त्री गौतम प्रसूति तथा स्त्री रोग विशेषज्ञ एवम् भूतपूर्व स्वास्थ्यसचिव हुन् भने युवामन्त्री गुप्ता परोपकारी सङ्गठन हन्ड्रेड ग्रुपका संस्थापक हुन् । 

अहिले सङ्घीय कार्यपालिकामा २१ वटा मन्त्रालय छन् । तर मन्त्री कार्कीले यसअघि मन्त्रिमण्डल ११–१२ सदस्यीय मात्र हुने बताएकी थिइन् । जेनजी आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएपछि कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी हुन् । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२  १७:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update