Sagun Khabar
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित वामपन्थी पार्टीबीच एकता घोषणा

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित विभिन्न वामपन्थी पार्टीबीच एकता घोषणा भएको छ।

बुधबार भृकुटीमण्डपमा आयोजित विशेष समारोहमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी)लगायत वाम पार्टीबिच एकता घोषणा गरिएको हो। पार्टी एकताका लागि दलहरूबिच नौ बुँदे सहमति भएको छ। पार्टीको केन्द्रीय संयोजकमा पुष्पकमल दाहाल र प्रचण्ड र सहसंयोजकमा माधव कुमार नेपाललाई चयन गरिएको छ।

एकता घोषणा कार्यक्रममा पार्टी एकतामा आएका दलका सबै नेता तथा कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीको हुने र पार्टीको चुनाव चिह्न पाँचकुने तारा रहने प्रस्तावलाई सबै दलका नेताहरूले अनुमोदन गरेका थिए।

नेपाली कम्युनिस्ट पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद र कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद राखिएको छ। नेपाली कम्युनिस्ट पार्टीको आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गर्ने सहमति भएको छ। एकता प्रक्रियामा सहभागी भएका पार्टीका साबिकका केन्द्रीय समितिलाई समायोजन गर्दै आपसी सहमतिको आधारमा केन्द्रीय समिति गठन गरिने बताइएको छ। 

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  १६:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update