Sagun Khabar
एमालेको विधान संशोधन, पदाधिकारी सङ्ख्या १९ जना पुर्‍याउने

 नेकपा एमालेको फेरि विधान संशोधन भएको छ । ११औं महाधिवेशनको बन्दसत्रअघि भृकुटीमण्डपमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको विधान संशोधनको प्रस्ताव पारित भएको हो । अब पदाधिकारीकाे सङ्ख्या १९ जना पुगेको छ ।

यसअघि भदौमा भएको विधान महाधिवेशनले वरिष्ठ उपाध्यक्ष पद खारेजसहित पदाधिकारी सङ्ख्या १९ बाट घटाएर १५ मा झारेको थियो । अहिले अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ गरी पदाधिकारी सङ्ख्या १९ जना कायम गरेको एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

वरिष्ठ उपाध्यक्ष रहनुभएका ईश्वर पोखरेलले ११औं महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेपछि अध्यक्ष ओलीले आफ्नो समूहका नेताहरूलाई व्यवस्थापन गर्ने गरी नवयुवा आन्दोलनलाई कारण देखाउँदै विधानमा संशोधन गर्नुभएको हो ।

नेता तामाङका अनुसार बैठकले विधान संशोधन गरी पदाधिकारी सङ्ख्या १९ सदस्यीय, स्थायी कमिटी ४५ सदस्यीय र पोलिटब्युरो ९९ सदस्यीयसहित केन्द्रीय कमिटी ३ सय १ सदस्यीय रहने गरी नयाँ संरचना तय गरेको छ ।

पुरानै विधान ब्युँत्याएकोमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, उपमहासचिव गोकर्ण विष्ट, योगेश भट्टराई, नेता कर्ण थापा र काशीनाथ अधिकारीलगायतले विरोध गर्नुभएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  १५:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update