Sagun Khabar
एमाले अध्यक्षमा ओली विजयी 

काठमाण्डौं –नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । ओलीले १ हजार ६६३ मत र अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका हुन् । 

ओली तेस्रो कार्यकालका लागि एमाले अध्यक्षमा निर्वाचित भएका हुन् । उनी २०७१ सालमा सम्पन्न नवौं महाधिवेशनमा माधव नेपाललाई ४४ मतले पराजित गर्दै पहिलो पटक अध्यक्षमा निर्वाचित भएका थिए । २०७८ सालमा उनी दोस्रो पटक अध्यक्ष चुनिए  । २०६५ सालमा आयोजित आठौं महाधिवेशनमा भने ओली झलनाथ खनालसँग पराजित भएका थिए । 

पूर्वमहासचिवसमेत रहेका ईश्वर पोखरेलले भने अध्यक्ष पदका लागि पहिलो पटक प्रतिस्पर्धा गरेका हुन् । 

१९ जनामध्ये उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई बाहेक सबै ओली समूहबाट निर्वाचित भएका छन् । 

पाँच जना उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद पौडेल, रामबहादुर थापा बादल, गोकर्ण विष्ट र रघुजी पन्त विजयी भएका छन् । 

महासचिवमा सुरेन्द्रप्रसाद पाण्डेलाई पराजित गर्दै शङ्कर पोखरेल निर्वाचित भएका छन् ।  यसअघि पनि महासचिव रहेका पोखरेलले १ हजार २२८ मत र पाण्डेले ९९९ मत प्राप्त गरेका छन् । 

तीन सदस्यीय उपमहासचिव पदमा लेखराज भट्ट, योगेश भट्टराई र रघुवीर महासेठ विजयी भएका छन् ।

नौ सदस्य रहेको सचिव पदमा महेश बस्नेत, पद्माकुमारी अर्याल, शेरधन राई, यामलाल कँडेल, राजन भट्टराई, छविलाल विश्वकर्मा, खगराज अधिकारी, हिक्मत कार्की र भानुभक्त ढकाल विजयी भएका छन् । 

एमाले महाधिवेशनमा २ हजार २ सय ६३ महाधिवेशन प्रतिनिधि रहेकामा ३६ जना प्रतिनिधिले भोट हालेनन् ।

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update