Sagun Khabar
नवयुवा आन्दोलनमा बल प्रयोग गर्न आदेश दिएको छैन : पूर्व गृहमन्त्री लेखक

काठमाण्डौ – पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखकले भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनका क्रममा बल प्रयोग गर्न आफूले कुनै लिखित वा मौखिक आदेश नदिएको पुनः स्पष्ट पारेका छन् । 

आज जाँचबुझ आयोगमा बयान दिएलगत्तै काठमाण्डौमा पत्रकार सम्मेलन आयोजना गरेर नेता लेखकले कुनै पनि आन्दोलनका क्रममा प्रधानमन्त्री वा मन्त्रीले सुरक्षा निकायलाई कति र कसरी बल प्रयोग गर्ने भन्ने आदेश दिने कुनै संवैधानिक वा कानूनी व्यवस्था नभएको उल्लेख गरे । 

लेखकले आन्दोलनका क्रममा हताहती भइसकेपछि राजनीतिमा नैतिकतालाई सर्वोच्च मूल्य मानेर गृहमन्त्रीबाट राजीनामा दिएको दाबी पनि गरे । उनले आफूले भदौ २२ गते बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा समग्र सुरक्षा अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूलाई दिशानिर्देश मात्रै दिएको दाबी गर्दै त्यसलाई बल प्रयोगको आदेशका रूपमा व्याख्या गर्नु गलत भएको बताए ।

कांग्रेस नेता लेखकले नवयुवा आन्दोलनका मागहरू जायज भए पनि आन्दोलनमा घुसपैठ हुँदा देशले ठूलो धनजनको क्षति व्यहोर्नुपरेको प्रति दुःख व्यक्त गरे । यस्तै उनले स्थानहद तोक्ने र राहदानी रोक्का गरेको विषयमा आफूलाई कुनै जानकारी नदिएको भन्दै यो संविधान र कानून विपरीत रहेको उल्लेख गरेका छन् ।
 

प्रकाशित मिति: सोमबार, पुस १४, २०८२  १७:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update