काठमाण्डौ – भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनका क्रममा भएका घटनासम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकको स्थानहद फुकुवा गरेको छ । लेखकसँग सोमवार र हिजो बयान लिएको आयोगले आज स्थानहद फुकुवा गरेको हो ।
यसैबीच आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाउने तयारी गरेको जनाएको छ । आज सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले एमाले अध्यक्षसमेत रहेका ओलीलाई बयानका लागि बोलाउने तयारी भएको जानकारी दिए ।
अब तत्कालीन प्रधानमन्त्री ओलीको मात्र बयान बाँकी रहेको छ । ओलीलाई झन्डै एक हप्ताको अवधि दिएर बयानमा बोलाउने योजना रहेको र उनका लागि प्रश्नपत्र पनि तयार भइसकेको आयोगले जनाएको छ ।
अध्यक्ष कार्कीले आयोगको कार्यअवधि एक महिना थप भएको र एक महिनाभित्र काम सकेर सरकारलाई प्रतिवेदन बुझाउने पनि बताए ।




