काठमाण्डौ – आज विश्व रेडियो दिवस । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को अगुवाइमा सन् २०१२ देखि यो दिवस मनाउन शुरू भएको हो ।
सन् १९४६ मा राष्ट्रसङ्घीय रेडियो सेवा स्थापना भएको दिनको स्मरणमा यो दिवस मनाउने गरिन्छ । युनेस्कोका अनुसार सञ्चार माध्यमका रूपमा रेडियोको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्नुका साथै निर्णयकर्ताहरूलाई सूचनामा पहुँच सुनिश्चित गर्नु, रेडियोको उपयोग प्रोत्साहित गर्नु एवम् विश्वभरका प्रसारकहरूबीच अन्तर्राष्ट्रिय सहकार्य सुदृढ तुल्याउनु यस दिवसको उद्देश्य हो ।
मानव समाजको विविधतालाई उत्सवका रूपमा मनाउने सशक्त माध्यमका रूपमा रेडियोलाई लिइन्छ । लोकतान्त्रिक संवादका लागि रेडियो महत्त्वपूर्ण मञ्चका रूपमा स्थापित छ । विश्वस्तरमा अझै पनि सबैभन्दा धेरै सुनिने सञ्चार माध्यमका रूपमा रेडियो नै रहेको छ ।
व्यापक श्रोतासम्म पुग्ने यसको विशिष्ट क्षमताले समाजमा विविधताको अनुभूति निर्माण गर्न, सबै आवाजलाई बोल्ने, प्रतिनिधित्व हुने र सुन्ने अवसर प्रदान गर्ने सार्वजनिक चौतारीका रूपमा रेडियोले काम गरेको छ ।
रेडियो ‘स्टेशन’ हरूले विविध समुदायलाई सेवा पुर्याउँदै विभिन्न कार्यक्रम, दृष्टिकोण र सामग्री प्रस्तुत गर्नुपर्ने तथा आफ्ना संरचना र सञ्चालनमा पनि श्रोताको विविधता प्रतिबिम्बित गर्नुपर्नेमा युनेस्कोले जोड दिएको छ ।
कम लागतमा सञ्चालन गर्न सकिने माध्यम भएकाले रेडियो दुर्गम क्षेत्र तथा जोखिममा रहेका समुदायसम्म पुग्न विशेष रूपमा उपयुक्त मानिन्छ । यसले शैक्षिक स्तरको भेदभाव नगरी सार्वजनिक बहसमा सहभागी हुन समान अवसर प्रदान गर्दछ । आपत्कालीन सूचना प्रवाह र विपद् उद्धारका सन्दर्भमा समेत रेडियोको भूमिका महत्त्वपूर्ण छ ।
त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका उपप्राध्यापक श्रीराम पौडेलका अनुसार समुदायलाई एकताबद्ध गर्दै सकारात्मक परिवर्तनका लागि संवाद प्रवद्र्धन गर्न रेडियो अद्वितीय रूपमा सक्षम छ ।
श्रोताको आवश्यकतालाई सुन्दै तदनुसार सामग्री प्रस्तुत गर्दा साझा चुनौतीहरूको समाधानका लागि आवश्यक विविध दृष्टिकोण र आवाज सुनिश्चित गर्न रेडियो सेवाले सहयोग पु¥याउने उनको भनाइ छ ।




