Sagun Khabar
झुलाघाट पुल निर्माणको बिषय सरकारको प्राथमिकतामा परेन 

बैतडी –भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा मोटरेबल पुल बनाउने बिषय सरकारको प्राथमिकतामा नपरेपछि यहाँ बासिन्दाले गुनासो र आक्रोश व्यक्त गरेका छन् । भारत भ्रमणको समयमा परराष्ट्र मन्त्रीले झुलाघाटमा मोटरेबल पुल निर्माण बिषय उठाउन नसकेको भन्दै स्थानीयहरुले आलोचना गरेका छन् । 

महाकाली नदीमाथि मोटरेबल पुल निर्माण हुनुपर्ने भन्दै बैतडीबासीले लामो समयदेखि माग गर्दै आएका छन् । नेपाल तथा भारत सरकारले झुलाघाटमा पक्की पुल निर्माण गर्ने सहमति गरेको भए पनि पुल निर्माणको काम अगाडि बढ्न सकेको छैन् । 

यसअघि तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को भारत भ्रमणका बेला बैतडीको झुलाघाट र डडेल्धुराको शीर्षमा मोटरेबल पुल निर्माण गर्ने सहमति भएको थियो। । प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच २०८० जेठ १८ गते महाकाली नदीको दुई ठाउँमा मोटरेबल पुल निर्माण गर्ने सहमति भएको हो । 

तीन वर्ष अगाडि नेपाल र भारत सरकारबीच महाकालीमा पुल निर्माण गर्ने सहमति भए पनि अहिलेसम्म केही प्रगति हुन नसकेको बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले बताए । वर्तमान सरकारले समेत पुल निर्माणको बिषयलाई प्राथमिकतामा नराखेको भन्दै उनले आक्रोश व्यक्त गरेका छन् । परराष्ट्र मन्त्री शिशिर खनालले भारतीय समकक्षीसँगको भेटमा यो बिषय नउठाउँदा निकै दुःख लागेको उनले बताए ।  

झुलाघाट पुल बैतडी, दार्चुला र बझाङ जिल्लाका नागरिकका लागि अत्यन्तै महत्वपूर्ण पूर्वाधार भए पनि सरकारले यसलाई प्राथमिकतामा नराखेको चन्दले बताए । पटक–पटक ज्ञापनपत्र बुझाउने, आन्दोलन गर्ने र समय तथा खर्च व्यर्थ गएको अध्यक्ष चन्दको गुनासो छ । ‘महाकालीमा पुल निर्माण गर्ने काम पनि नेपालमा महाभारत जस्तै बनाइएको छ,’ उनले आक्रोश पोखे । 

हाल स्वास्थ्य उपचारमा रहेका चन्दले जुलाघाट पुलकै चिन्ताले मानसिक तनाव बढाएको बताएका छन् । 

उनले नेपालका नेताहरूको बोलीमा भरोसा गर्न गाह्रो भएको र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले व्यक्त गरेका प्रतिबद्धताहरू पनि व्यवहारमा नदेखिएको टिप्पणी गरे । 

झुलाघाटमा मोटरेबल पुल निर्माणको बिषयमा महत्वपूर्ण भएपनि वर्तमान सरकारले समेत ध्यान नदिएको बैतडी उद्योग वाणिज्य संघका उपाध्यक्ष खीमानन्द भट्टले बताए । 

पुल निर्माणका लागि दबाब दिन रिले अनसनको आयोजना गरिएको थियो । 

झुलाघाट नाका भारतसँगको पुरानो नाका भएपनि यो नाका स्तरोन्नतिका बिषयमा कसैले ध्यान नदिएको स्थानीयहरुको गुनासो छ । इष्टइण्डिया कम्पनीले डेढ सय बर्ष पहिला निर्माण गरेको झोलुंगे पुलबाट यो नाकामा आवतजावत गर्ने गरिएको छ ।  
 

प्रकाशित मिति: आइतबार, जेठ २४, २०८३  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update