Sagun Khabar
प्रतिनिधि सभा निर्वाचन : दार्चुलामा संयुक्त सुरक्षा गस्ती शुरु 

दार्चुला –आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै दार्चुलामा तीनवटै सुरक्षा निकायले संयुक्त सुरक्षा गस्ती शुरु गरेका छन् । फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्लाभर सुरक्षा सक्रियता बढाइएको हो । 

जिल्लामा ११२ मतदानस्थल र १४३ मतदान केन्द्र रहेका छन् । ती स्थानको अनुगमन तथा मतदातालाई सुरक्षाको प्रत्याभूति दिलाउन संयुक्त गस्ती परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।

उनका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । सुरक्षाकर्मीले नियमित जाँच, इजाजतप्राप्त हतियार सङ्कलन, अवैध मदिरा नियन्त्रणका लागि बजार अनुगमन तथा बरामद मदिरा नष्ट गर्ने कार्य गरिरहेका छन् । साथै मतदानस्थलहरूको नियमित निरीक्षण भइरहेको जनाइएको छ ।

नौगाड गाउँपालिका–१ नागुका केही स्थानीयले ‘नो भोट’ घोषणा गरेपछि त्यहाँ शान्तिपूर्ण मतदान कसरी सुनिश्चित गर्ने भन्ने विषयमा सरोकारवाला निकायबीच छलफल भएको प्रजिअ पौडेलले बताए । उनका अनुसार हालसम्म नागुका केही स्थानीय मतदानका लागि तयार छैनन् भने व्यास गाउँपालिका–२का स्थानीय मतदानमा सहभागी हुन सहमत भएका छन् । 

निर्वाचनका लागि जिल्लामा ८५६ जना कर्मचारी खटाइएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारीको अन्तिम सूची प्रकाशन गरिसकेको छ । सहायक निर्वाचन अधिकृत विष्णु अवस्थीका अनुसार प्रत्येक मतदान केन्द्रमा बढीमा छ जनासम्म कर्मचारी परिचालन गरिनेछ भने दुई अस्थायी मतदान केन्द्रमा तीन–तीन जना कर्मचारी रहनेछन् । 

दार्चुलामा प्रतिनिधिसभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको छ । जिल्लामा ४५ हजार १९३ महिला र ४७ हजार ७५५ पुरुष गरी कुल ९२ हजार ९४८ मतदाता रहेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, फागुन १२, २०८२  १३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update