दार्चुला –यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान सम्पन्न भए पश्चात दार्चुलाका सात वटा मतदान केन्द्रका मतपेटिकाहरू हेलिकोप्टर मार्फत ढुवानी गरिने भएको छ ।
जिल्लाको व्यास गाउँपालिकामा रहेका मतदान केन्द्रहरू शिरसिन्धार आधारभूत विद्यालय बोधगाउँ, सर्वहित आधारभूत विद्यालय दुम्लिङ तथा रानीस्थान आधारभूत विद्यालय मालको मतपेटिका र अपि हिमाल गाउँपालिकाको हिमालय आधारभूत विद्यालय पाथा, भवानी आधारभूत विद्यालय सिती, खण्डेश्वरी माध्यमिक विद्यालय र महिला सामुदायिक भवन सितोलाको मतपेटिका हेलिकोप्टर मार्फत ढुवानी गर्ने निर्णय भएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी विनोद दाहालले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय दार्चुलामा प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको अध्यक्षतामा मतपत्र ढुवानी, आचारसंहिता पालना सम्बन्धी राजनीतिक दलहरूसँग आज भएको बैठकमा उक्त निर्णय गरिएको उले बताए ।
यहाँका सात वटा मतदान केन्द्रको मतपेटिका हेलिकोप्टर मार्फत ढुवानीका लागि गृह मन्त्रालयमा लेखी पठाइएको तथा सानो हेलिकोप्टर प्राप्त हुने जानकारी प्राप्त भएको भन्दै उनले मतपेटीका र मतदान अधिकृतलाई हेलिकोप्टर मार्फत ल्याउने विषयमा बैठकमा पार्टीको प्रतिनिधिहरूले समेत सहमति जनाएको उनको भनाइ छ ।
यस्तै निर्वाचनमा मतदातालाई निर्धक्क भई मतदान गर्ने वातावरण मिलाउन दार्चुलाका राजनीतिक दलका नेताहरूले प्रतिबद्धता जनाएका छन् ।




