Sagun Khabar
आमसभामार्फत चुनावी प्रचार गर्दै दार्चुला कांग्रेस 

दार्चुला –नेपाली कांग्रेसले दार्चुलामा आमसभामार्फत चुनावी प्रचारप्रसारलाई तीव्रता दिएको छ । 

घरदैलो अभियानका साथै आमसभामार्फत चुनावको प्रचारप्रसार भइरहेको कांग्रेस दार्चुलाले जनाएको छ । 

पूर्वमन्त्री एवं कांग्रेस नेता दिलेन्द्रप्रसाड बडू, प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार धर्मानन्द जोशी लगायतका नेताहरुको सहभागितामा आमसभा सञ्चालन भइरहेको कांग्रेसले बताए । 

दार्चुलामा अन्य दलहरुले आमसभा भने गरेका छैनन् । नेपाली कांग्रेसले मात्रै आमसभामार्फत मत मागिरहेको जनाएको छ । 

नेपाली कांग्रेसले यो चुनावमा धर्मानन्द जोशीलाई उम्मेदवार बनाएको छ । कांग्रेस रुपान्तरित भएर मतदाता समक्ष आफ्ना एजेण्डाहरु प्रस्तुत गरिरहेको जोशीले बताए । आफूले अहिलेसम्म प्राप्त गरेको ज्ञान र सीपलाई प्रयोग गर्ने र यहाँका समस्या सदनसम्म पुर्याउन आफ्नो उम्मेदवारी रहेको जोशीले बताए । 

दार्चुलाको मार्मा र मालिकार्जुनमा आमसभा गरिसकेको कांग्रेसले घरदैलो अभियानलाई समेत तीव्रता दिएको छ । 

आमसभामा सहभागी कांग्रेस नेता बडूले देशमा देखिएको विद्यमान समस्या कांग्रेसले मात्रै समाधान गर्ने सक्ने भएकाले कांग्रेस उम्मेदवारलाई जिताउन आग्रह गरे । 

फागुन २१ गते हुने चुनावका लागि दार्चुलामा ११ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । प्रतिनिधि सभाका लागि एकमात्रै निर्वाचन क्षेत्र रहेको दार्चुलामा चुनावी सरगर्मी बढ्दै गएको छ । 
 

प्रकाशित मिति: शनिबार, फागुन १६, २०८२  १२:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update