दार्चुलामा पासोमा फसेको चितुवाको उद्धार
दार्चुला –दार्चुलामा पासोमा फसेको चितुवाको सकुशल उद्धार गरिएको छ ।
आइतबार राति ९ बजेतिर मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ बसेडीमा स्थानीयहरुले थापेको पासोमा चितुवा फसेको थियो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लफाँटाबाट आएको प्राविधिक टोलीको सहयोगमा सोमबार राति साढे आठ बजेतिर चितुवाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता, प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिए ।
कञ्चनपुरबाट आएको प्राविधिकहरुको टोलीले पासोमा फसेको चितुवालाई पासोबाट निकालेर होल्डिङ सेन्टर लगेको डिभिजन वन कार्यालय दार्चुलाका प्रमुख परमानन्द कुँवरले बताए ।
बाली जोगाउन स्थानीयहरुले जंगली बँदेलका लागि थापेको ‘ग्याविन तार’को पासोमा चितुवा फसेको कुँवरले बताए ।
प्रकाशित मिति: मंगलबार, फागुन १९, २०८२ ०८:०४
प्रतिक्रिया दिनुहोस्




