Sagun Khabar
चुनावको तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपील

काठमाण्डौ – निर्वाचन आयोगले भोलि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

चुनावको पूर्वसन्ध्यामा आज आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभरका सबै मतदान केन्द्रहरूमा आवश्यक चुनाव सामग्रीहरू पुगिसकेको जानकारी दिए । उनले गएको भदौ २३ र २४ गतेको नवयुवा आन्दोलनपछि सिर्जना भएको विशिष्ट परिस्थितिमा घोषणा भएको चुनावलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन आयोग पूर्णरूपमा क्रियाशील रहेको स्पष्ट पारे ।

मतदान केन्द्रहरूको निर्माण तथा व्यवस्थापन कार्य सम्पन्न भइसकेको जानकारी दिँदै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले मतदान स्थलहरूलाई लैङ्गिक तथा अपाङ्गमैत्री बनाइएको र सबै मतदाताको सहज पहुँच सुनिश्चित गरिएको उल्लेख गरे ।

मतदाताले निर्बाध रूपमा आफूलाई मन परेको उम्मेदवार र राजनीतिक दललाई मतदान गर्न पाउने गरी शान्ति सुरक्षाको अत्यन्तै भरपर्दो प्रबन्ध मिलाइएको आयोगले जनाएको छ । आयोगले सम्पूर्ण मतदाताहरूलाई यस ऐतिहासिक लोकतान्त्रिक अभ्यासमा उत्साहपूर्वक सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न अपील गरेको छ ।
 

प्रकाशित मिति: बुधबार, फागुन २०, २०८२  १६:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update