बैतडी–बैतडीमा सामान बोकेको ट्रेलर ठूलो दुर्घटनाबाट जोगिएको छ ।
दार्चुलाको मार्मामा निर्माणाधिन हाइड्रो पावरको सामग्री बोकेर दार्चुलातर्फ गइरहेको मधेश प्रदेश ०३–००२ ख ४२३१ नम्बरको टे«लरको पछाडीतर्फको भाग सडकको लिकभन्दा बाहिर गएको हो ।
महाकाली राजमार्ग अन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–५ गोबडा नजिकै उक्त ट्रेलर सडकको लिकभन्दा बाहिर गएको हो । पछाडिको भाग सडकभन्दा बाहिर गएपनि अगाडिको भाग सडकमै रोकिएकाले ठूलो दुर्घटना हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
सडकमा रोकिएको उक्त ट्रेलरका कारण आइतबार बिहान चार बजेदेखि महाकाली राजमार्ग अवरुद्ध रहेको छ । उक्त ट्रेलर निकाल्नका लागि स्काभेटर मगाइसकेको खोचलेक प्रहरीले जनाएको छ ।
महाकाली राजमार्ग अवरुद्ध हुँदा विभिन्न जिल्लाबाट दार्चुलाका लागि छुटेका सवारी साधन र दार्चुलाबाट विभिन्न जिल्लाका लागि छुटेका सवारी साधन बीच बाटोमै रोकिएका छन् ।




