Sagun Khabar
कांग्रेस सभापति थापालाई हराउँदै सर्लाही ४ मा रास्वपाका अमरेश सिंह विजयी

काठमाण्डौ – प्रतिनिधि सभा चुनवामा सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेश सिंह विजयी भएका छन् । उनले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई हराएका हुन् । 

सिंहले ३५ हजार ६ सय ८८ मत ल्याउँदा थापाले २२ हजार ८ सय ३१ मत मात्रै ल्याए । शुरूमा मधेशी जनाधिकार फोरममार्फत आफ्नो राजनीतिक यात्रा शुरू गरेका सिंह पछि नेपाली कांग्रेसमा प्रवेश गरी सक्रिय राजनीतिमा लागेका थिए । 

२०७० र २०७४ सालको प्रतिनिधिसभा चुनावमा उनी सर्लाही क्षेत्र नं. ४ बाट निर्वाचित भएका थिए । त्यसपछि २०७९ सालको चुनावमा कांग्रेसबाट टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएर फेरि विजयी भएका थिए । 

काठमाण्डौ ४ बाट चुनाव जित्दै आएका थापाले पहिलो पटक मधेशबाट उम्मेदवारी दिएका थिए । २०६४ सालको संविधान सभामा समानुपातिकबाट सदस्य बनेका थिए । दोस्रो संविधान सभामा काठमाण्डौ ४ बाट विजयी भएका उनी २०७४ र २०७९ सालको चुनावमा पनि त्यही क्षेत्रबाट विजयी भए  । २०७० सालमा उनी स्वास्थ्य मन्त्री बनेका थिए । 

तेस्रो भएका एमाले उमेदवार अमनिश कुमार यादवले ९ हजार ३ सय ४३ मत ल्याए । १ लाख २१ हजार १२ जना मतदाता रहेका यस क्षेत्रमा ७७ हजार ९३१ मत खसेको थियो ।
 

प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२  ०७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update