बैतडी–नेकपा एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक परेका कारण उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले समानुपातिक उम्मेदवारको टुङ्गो लगाउनुका साथै विभिन्न शोक प्रस्तावहरू पारित गरेको हो ।
पार्टी उपमहासचिव लेखराज भट्टले बैठकका निर्णयहरु सार्वजनिक गर्दै क्लस्टरका आधारमा १६ जनाको नाम निर्वाचन आयोगमा पठाउने निर्णय भएको जानकारी दिए ।
जसमा थारुतर्फ सुदूरपश्चिमका कृपाराम राना चयन भएका छन् ।
आदिवासी जनजातितर्फ भूमिका सुब्बा , गङ्कादेवी श्रेष्ठ, रामबहादुर थापा मगर र कुलभक्त शाक्य रहेका छन् ।
त्यस्तै खस आर्यतर्फ पद्मा अर्याल, टुकाभद्रा हमाल , गुरुप्रसाद बराल , पुष्पराज कँडेल र यशोदाकुमारी बराल रहेका छनु । दलिततर्फ विष्णुमाया विक र नीता घतानी रहेका छन् ।
त्यस्तै मधेसीतर्फ रिंगला यादव, यशोदा कुमारी र चन्द्रेश्वर मण्डल रहेका छन् । मुस्लिमतर्फ साजिदा सिद्धिकी चयन भएका उपमहासचिव भट्टले बताए ।




