Sagun Khabar
महाकाली नदीमा एक बालक बेपत्ता 

दार्चुला –दार्चुलामा महाकाली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् । 

महाकाली नदीमा आज दिउँसो १ बजेतिर पौडी खेल्ने क्रममा व्याँस गाउँपालिका–६ का १५ बर्षीय धिरजसिंह धामी बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक देवेन्द्र बुढाथोकीले बताए । 

जिल्ला सदरमुकाम खलङ्गामा डेरा गरी बस्दै आएका धामी पौडी खेल्ने क्रममा  महाकाली नगरपालिका–५ बसपार्क नजिकबाट बेपत्ता भएका उनले बताए । 

साथीहरुसँग पौडी खेल्न गएका धामी नदीमा डुबेर बेपत्ता भएका हुन् । उनीसँगै गएका दुई बालक भने सकुशल रहेका प्रहरीले जनाएको छ । धामी महेन्द्र माध्यमिक विद्यालय खलङ्गामा कक्षा ९ मा अध्ययनरत थिए । बेपत्ता बालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, चैत २, २०८२  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update