Sagun Khabar
बैतडीका एकसहित पाँच युवक पक्राउ, हात्तीको दाह्रा र लागू औषध बरामद 

काठमाण्डौं –काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हात्तीको दाह्रासहित पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा बैतडीको डिलाशैनी गाउँपालिका–३ का २४ बर्षीय पुरन बोहरा, काठमाडौँ तार्केश्वर नगरपालिका–९ का २५ बर्षीय राजीव महर्जन, काठमाडौँ महानगरपालिका–१७ का २७ बर्षीय आयुष महर्जन, गोरखाको अजिरकोट गाउँपालिका–४ का २० बर्षीय सन्तबहादुर भुजेल र सोही जिल्ला धार्चे–४ का २६ बर्षीय टेकप्रसाद गुरुङ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।  

काठमाडौँको मनमैजु क्षेत्रमा राजीव महर्जन समेतका व्यक्तिहरूले अवैध रूपमा वन्यजन्तु हात्तीको दाह्रा ओसारपसार बिक्री वितरण तथा सञ्चय गरिराखेको सूचनाका आधारमा प्रहरीको टोलीले उनीहरुलाई बुधबार पक्राउ गरेको हो । 

राजीव महर्जनको घरको पूर्वतर्फ रहेको खाली जग्गामा गाडेर राखेको अवस्थामा हात्तीको दाह्रा दुई थान र निजको घर कोठामा ट्रमाडोल–५० लेखिएको लागुऔषध १५० क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका राजीव महर्जन, आयुष महर्जन र टेकप्रसाद गुरुङलाई लागुऔषध नियन्त्रण ऐन २०३३ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिमको कसुरमा एवं पुरन बोहरा र सन्तबहादुर भुजेललाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गतको कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँ र डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँ पठाइएको प्रवक्ता थापाक्षेत्रीले बताए ।
 

प्रकाशित मिति: बिहीबार, जेठ २१, २०८३  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update