Sagun Khabar
लागू औषध, साइवर सुरक्षा र बालविवाहका बारेमा किशोरकिशोरीलाई अभिमुखीकरण 

बैतडी– लागू औषध, साइवर सुरक्षा र बालविवाहका बिषयमा किशोरकिशोरीहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । 

परोपकार ग्रामीण विकास संघको आयोजना र पाटन नगरपालिका वडा नं ६ को कार्यालयको सहयोगमा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको परोपकार ग्रामीण विकास संघकी कार्यक्रम संयोजक कुन्ती भट्टले जानकारी दिइन् ।

किशोरावस्थाका मानिस समेत लागू औषध दुरव्यसनको शिकार भइरहेकाले उनीहरुलाई त्यसबाट बचाउनका लागि सचेतना फैलाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उनले बताइन् । 

लागू औषधको दुर्व्यसबाट किशोरकिशोरीहरुलाई बचाउन नसकेपछि समाजमा भयावह अवस्था सिर्जना हुने इलाका प्रहरी कार्यालय पाटनका प्रहरी सहायक निरीक्षक नवराज साउँदले बताए । पाटनमा मात्रै चालु आर्थिक बर्षमा लागू औषध मुद्दामा ९ जनालाई पक्राउ गरिसकेको उनले बताए । 

यस्तै साइबर सुरक्षाका बिषयमा पनि किशोरकिशोरीहरु जानकार नभएमा विभिन्न खालका समस्या आउन सक्ने प्रहरी सहायक निरीक्षक साउँदले बताए । पछिल्लो समयमा सामाजिक सञ्जालको दुरुपयोगबाट विभिन्न खालका आपराधिक घटनाहरु भइरहेकाले यो बिषयमा सजग रहन उनले किशोरकिशोरीहरुलाई आग्रह गरेका छन् । 

बालविवाहका कारण किशोरकिशोरीहरु बढी प्रभावित हुने भएकाले उनीहरुलाई बालविवाह न्यूनीकरणमा सक्रिय बनाउन सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरिएको परोपकार ग्रामीण विकास संघका लेखा अधिकृत हेमन्त अवस्थीले बताए । 

बालविवाहका कारण किशोरकिशोरीहरुको शिक्षा प्राप्त गर्ने अधिकार समेत कुण्ठित भइरहेकाले यस्ता खालका कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको कृष्ण माविकी शिक्षक राजश्री बिष्टले बताइन् । 

प्रकाशित मिति: आइतबार, जेठ ३१, २०८३  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update