कर्णालीलाई ३९ रनले हराउँदै सुदूरपश्चिम रोयल्स दोस्रो स्थानमा उक्लियो

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले पराजित गर्दै शानदार जित हात पारेको छ ।

यो जितसँगै सुदूरपश्चिम रोयल्स ५ खेलबाट ६ अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । यता लगातार दोस्रो हार व्यहोरेको कर्णाली याक्स ४ खेलमा ४ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ ।

टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले उत्कृष्ट सामूहिक प्रदर्शन गर्दै १७६ रनको योगफल तयार पारेको थियो । टोलीका लागि सेफ जेबले ३५, विनोद भण्डारीले २७, ब्रान्डन म्याकमुलेनले २४, ईशान पाण्डेले २३ तथा थरिन्दु रत्नायकले नटआउट २२ रन जोडे। कर्णालीका मार्क वाटले २ विकेट लिए ।

१७७ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो। कर्णालीका लागि एनपीएल डेब्युमै डेभिड मिलरले ५५ बलमा ७ छक्का र ५ चौकासहित अविश्वासी नटआउट ९३ रनको पारी खेले पनि टोलीलाई जिताउन सकेनन्। सुदूरपश्चिमका स्कट कुगेलेइनले २ विकेट लिए ।

एनपीएल अन्तर्गत आजै हुने दोस्रो खेलमा बेलुका ५ बजे चितवन राइनोज ३ खेलमा ३ अङ्कसहित सातौँ  र पोखरा एभेन्जर्स ३ खेलमै हारसहित अङ्कविहीन भिन्दैछन् । ८ टोली सहभागी एनपीएलको यो तेस्रो संस्करण मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २०, २०८३  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update