बैतडी–बैतडीको दशरथचन्द नगरपालिकाले बालविवाह न्यूनीकरण र लैङ्गिक समानताका लागि अन्तरपुस्ता सम्वाद कार्यक्रम सम्पन्न गरेको छ ।
नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा ११ ओटै वडाबाट किशोरकिशोरी र उनीहरुका अभिभावकहरुको सहभागिता अन्तरपुस्ता सम्वाद कार्यक्रम सम्पन्न गरिएको दशरथचन्द नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख लीला कुँवरले बताइन् ।
समाजमा रहेका विभिन्न खालका हानिकारक प्रचलनहरुलाई हटाउनका लागि अन्तरपुस्ता सम्वाद कार्यक्रम सञ्चालन गरिएको उनले बताइन् । अभिभावकहरुको भोगाइ, अनुभव र किशोरकिशोरीहरुका अपेक्षा साटासाट गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उनले बताइन् ।
दुईपुस्ता बीचको सम्वादले बालविवाह, लैङ्गिक हिंसाजस्ता कुप्रथाहरुको न्यूनीकरणमा सहयोग पुग्ने महिला तथा बालबालिका शाखा प्रमुख कुँवरले बताइन् ।
कार्यक्रमको उद्दघाटन गर्दै नगर प्रमुख पुस्करराज जोशीले बालविवाहले पार्ने असर र समस्याका बारेमा किशोरकिशोरी र उनीहरुका अभिभावकलाई जानकारी दिनका लागि अन्तरपुस्ता सम्वाद जस्ता कार्यक्रमको आयोजना गरिएको बताए । यो कार्यक्रमले बालविवाह र लैङ्गिक हिंसा न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास रहेको उनले बताए ।





