Sagun Khabar
बैतडीका १०८ विद्यार्थीलाई कृषि विकास बैंकद्वारा झोला वितरण

बैतडी-कृषि विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व  कार्यक्रम अन्तर्गत बैतडीका विद्यार्थीहरूलाई विद्यालय झोला वितरण गरेको छ। बैंकले कपडा बैंक बैतडीको पहल तथा समन्वयमा जिल्लाको मेलौली नगरपालिका वडा नम्बर ९ मा अवस्थित श्री शिव आधारभूत विद्यालयका १०८ जना विद्यार्थीहरूलाई  मंगलबार शैक्षिक सामग्री बोक्ने झोला वितरण गरेको हो।

लामो समयदेखि बैंकिङ सेवाका अतिरिक्त दुर्गम तथा ग्रामीण क्षेत्रमा पुगेर विभिन्न सामाजिक कार्य गर्दै आएको कृषि विकास बैंकले विद्यार्थीहरूको शैक्षिक प्रोत्साहनका लागि यो सामग्री सहयोग गरेको जनाएको छ।

झोला वितरणका लागि आयोजित एक विशेष कार्यक्रममा मेलौली नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष, वडा सदस्यहरू, कृषि विकास बैंकका सुदूरपश्चिम प्रदेश कार्यालयका वरिष्ठ अधिकृत नारद बोकटी, बैंकको बैतडी शाखाका प्रबन्धक मोहित खड्का तथा पाटन शाखाका प्रबन्धक ओमराज उपाध्यायको उपस्थिति रहेको कपडा बैंक बैतडीका सञ्चालक महेश दत्त भट्टले बताए।

यसैगरी कार्यक्रममा समन्वयकर्ता संस्था कपडा बैंक बैतडीका सञ्चालक महेश दत्त भट्ट, विद्यालयका शिक्षक, अभिभावक तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। 

ग्रामीण क्षेत्रका आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई लक्षित गरी गरिएको यस सहयोगले विद्यार्थीहरूलाई नियमित विद्यालय जान थप हौसला मिल्ने विश्वास स्थानीय जनप्रतिनिधि तथा विद्यालय प्रशासनले व्यक्त गरेको छ।

प्रकाशित मिति: मंगलबार, असार ९, २०८३  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update