Sagun Khabar
बैतडीमा पनि भीमदत्त पन्त स्मृति दिवस मनाइयो 

बैतडी–७३ औं भीमदत्त पन्त स्मृति दिवस बैतडीमा पनि विविध कार्यक्रमको आयोजना गरेर मनाइएको छ । 

दलित समाज विकास मञ्च र भूमिमा महिला कृषि सहकारी संस्थाको आयोजनामा स्मृति दिवस मनाइएको दलित समाज विकास मञ्चका सचिव बलभद्र दयालले जानकारी दिए । 

दशरथचन्द नगरपालिकाको हलमा आयोजना गरिएको कार्यक्रममा भीमदत्त पन्तको योगदानका बिषयमा चर्चा गरिएको थियो । तत्कालिन समयमा किसानहरुको नेतृत्व गर्दै पन्तले समाज सुधारका लागि चालेका कदमका बिषयमा सहभागीहरुले भनाइ राखेका दयालले बताए । 

किसानहरुको हकहितका लागि पन्तले तत्कालिन समयमा ठूलो संघर्ष गरेको र उनले गरेको योगदान अहिले पनि उत्तिकै सान्दर्भिक रहेकोमा सहभागीहरुले जोड दिएका छन् । 

दलित समाज विकास मञ्चका अध्यक्ष सरस्वती नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत भोजलाल थारु प्रमुख अतिथी रहेका थिए । उक्त कार्यक्रममा सहकारी संस्थाका सदस्य, दलित समाज विकास मञ्चका सदस्य लगायतको सहभागिता रहेको थियो । 

यस्तै कार्यक्रमका सहभागीहरुलाई डिभिजन वन कार्यालयको सहयोगमा विभिन्न जडीबुटीका बिरुवाहरु समेत वितरण गरिएको दयालले बताए । 
 

प्रकाशित मिति: आइतबार, साउन १७, २०८३  १६:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update