Sagun Khabar
सांसद महतासहितको टोलीद्वारा बैतडीमा कार्यालय प्रमुखहरुसँग छलफल 

बैतडी–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ज्ञानेन्द्र महतासहितको टोलीले शुक्रबार बैतडीमा कार्यालय प्रमुखहरुसँग अन्तरक्रियात्मक छलफल गरेको छ । 

‘हामी आउँदैछौं, हामी सुन्छौं’ अभियान अन्तर्गत बैतडी पुगेका सांसद महतासहितको टोलीले जिल्ला प्रशासन कार्यालयमा अन्तरक्रियात्मक छलफल गरेको हो । 

जिल्लाका समसामयिक समस्या, नागरिकका गुनासा र सार्वजनिक सेवा प्रवाहको अवस्थाका बारेमा अन्तरक्रियात्मक छलफल भएको रास्वापका सार्वजनिक मामिला विभाग सुदूरपश्चिम उपप्रमुख विशाल भट्टले जानकारी दिए । 

छलफलका क्रममा सरकारी कार्यालयमा देखिएका समस्या, सेवा प्रवाहमा भइरहेको कठीनाइ र तिनका कारणबारे सम्बन्धित कार्यालयहरुबाट जानकारी मागिएको भट्टले जानकारी दिए । नागरिकले सेवा प्राप्तिमा भइरहेको असहजताका बिषयमा गरेका गुनासा र ती गुनासा सम्बोधनका लागि गर्न सकिने उपायका बारेमा सांसद महतासहितको टोलीले छलफल गरेको बताइएको छ । 

नागरिक सेवालाई पहिलो प्राथमिकता राखेर काम गर्नुपर्नेमा सांसद महताले जोड दिएका छन् । सार्वजनिक निकायहरुले सेवा प्रवाह गर्दा प्रभावकारी, पारदर्शी र नागरिकमैत्री हुनुपर्नेमा उनले जोड दिए । नागरिकलाई सुशासनको प्रत्याभूति हुने गरेर सार्वजनिक सेवा प्रवाह हुनुपर्नेमा जोड दिइएको छ । 

जिल्ला अदालतका न्यायधिश, सहायक प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक, सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक, संघीय तथा प्रदेश सरकार मातहतका कार्यालय प्रमुख एवं प्रतिनिधिहरुको छलफलमा सहभागिता रहेको थियो । 

छलफलले नागरिकका समस्या समाधानका लागि केही सहज हुने भट्टले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०८३  १६:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update