बैतडी–बैतडीको सुर्नया गाउँपालिका–२ लिस्किटास्थित वासुदेव मावि लिस्किटाको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा योगेन्द्रबहादुर चन्द चयन भएका छन् ।
शुक्रबार विद्यालयमा भएको अभिभावकहरुको भेलाले चन्दलाई सर्वसम्मत रुपमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन गरेको हो । उक्त समितिको सदस्यमा केशवराज भट्ट, गोमती टेर बिष्ट र वसन्ती मडै ऐरी चयन भएका छन् ।
समितिमा वडा अध्यक्ष गणेशबहादुर बिष्ट पदेन सदस्य रहेका छन् भने शिक्षक प्रतिनिधि सदस्यमा बीरबहादुर पाण्डेयलाई चयन गरिएको समितिका सदस्य सचिव एवं विद्यालयका प्रधानाध्यापक जीतबहादुर पाण्डेयले बताए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्षमा चयन भएका चन्दले विद्यालयको चौतर्फी विकासका लागि आफूले पहल गर्ने बताए । विभिन्न संघसंस्थामा काम गरेको अनुभवसहित आफूले विद्यालयको शैक्षिक र भौतिक सुधारमा ध्यान केन्द्रित गर्ने उनले बताए ।




