बैतडी–नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी कार्तिक ७ गते बैतडीमा जिल्ला अधिवेशन गर्ने भएको छ । समानान्तर अधिवेशन गरिरहेको देउवा समूहले वडा र पालिका अधिवेशन सम्पन्न गरेपछि जिल्ला अधिवेशनको मिति तय गरेको हो ।
शनिबार बैतडी सदरमुकाममा अधिवेशन आयोजक समितिको बैठक बसेर कार्तिक ७ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको देउवा समूहका नेता रमेश पाण्डेयले जानकारी दिए ।
जिल्ला अधिवेशन अघि दुवै प्रदेश सभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने निर्णय भएको पाण्डेयले बताए ।
अधिवेशन सम्पन्न गर्नका लागि अधिवेशन आयोजक समितिका संयोजक बिरबहादुर बिष्टको संयोजकत्वमा राजनैतिक प्रस्ताव समिति गठन गरेको छ । यस्तै नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति गठन गरेको पाण्डेयले बताए ।
यस्तै नेता रमेश पाण्डेयको संयोजकत्वमा ९ सदस्यीय अर्थ व्यवस्थापन समिति, जनकराज भट्टको संयोजकत्वमा ५ सदस्यीय प्रचारप्रसार समिति, लालबहादुर चन्दको संयोजकत्वमा तीन सदस्यीय मञ्च व्यवस्थापन समिति र मनिषा बोगटीको संयोजकत्वमा तीन सदस्यीय कार्यालय व्यवस्थापन समिति गठन गरिएको अधिवेशन आयोजक समिति बैतडीका संयोजक बिरबहादुर बिष्टले जानकारी दिए ।
जिल्लाका ८४ ओटै वडा र ९ ओटा पालिकामा अधिवेशन सम्पन्न गरिसकेको देउवा समूहले दोगडाकेदार गाउँपालिकामा सोमबार अधिवेशन गर्ने जनाएको छ ।




