जाजरकोट — जाजरकोटको जुनीचाँदे गाउँपालिकामा आज बिहान भएको जिप दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।
सुर्खेतबाट जाजरकोटको जुनीचाँदेतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १२४३ नम्बरको जिप आज बिहान जुनीचाँदे गाउँपालिका–२ स्थित गैरीगुवामा अनियन्त्रित भई सडकबाट झण्डै तीन सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनामा परी जिप चालक जुनीचाँदे गाउँपालिका–९, कल्ली स्यालाका २० वर्षीय सान्तबहादुर बस्नेत र जुनीचाँदे गाउँपालिका–३, स्यालाकी ३० वर्षीया बिपना भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) बुद्धिसागर पुरीले जानकारी दिनुभयो ।
दुर्घटनामा परी मृतक बिपनाका श्रीमान् दिलबहादुर भण्डारी, उहाँका चार वर्षीय छोरा शिशिर भण्डारी र जुनीचाँदे गाउँपालिकाकी ५० वर्षीया सितला टमटा घाइते हुनुभएको छ ।
घाइते तीनै जनाको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।




