Sagun Khabar
बैतडी अस्पताल स्तरोन्नतिको माग गर्दै पूर्व मुख्यमन्त्री रावललाई ज्ञापन पत्र 

बैतडी–जिल्ला अस्पताल बैतडीलाई स्तरोन्नतिको माग गर्दै सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री एवं एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई ज्ञापन पत्र बुझाइएको छ । 

अस्पताललाई ५० शैय्याको अस्पतालमा स्तरोन्नति गर्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर क्षेत्री (जगदीश)ले बताए । 

जिल्ला अस्पताल बैतडीलाई स्तरोन्नतिको माग राख्दै पटक–पटक सरकार र सम्बन्धित सरोकारवालाहरुलाई ज्ञापन पत्र बुझाएको भएपनि माग पू्रा नभएको अध्यक्ष क्षेत्रीले बताए । 

जिल्ला अस्पताल बैतडीमा ५० शैय्या सञ्चालनका लागि भौतिक संरचना भएपनि प्रदेश सरकारको बेवास्ताका कारण समस्या भइरहेको छ । 

अघिल्लो सरकारले अस्पताललाई २५ शैय्यामा स्तरोन्नति गर्ने कुरा बजेटमा उल्लेख गरेको थियो । तर सत्ता समीकरण फेरिएसँगै उक्त बजेट पास नभएपछि नयाँ सरकारले चालु आर्थिक बर्षको बजेट ल्याएको छ । बजेटमा बैतडी अस्पताललाई स्तरोन्नति गर्ने कुरा नअटाएकाले सरोकारवालाहरुले असन्तुष्टि व्यक्त गरेका छन् । 

पूर्व मुख्यमन्त्री रावललाई बुझाएको ज्ञापन पत्रमा जिल्ला अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गरि आवश्यक दरबन्दी अनुसारका बिशेषज्ञ चिकित्सकको व्यवस्थापन गर्न आग्रह गरिएको छ । यस्तै गेटा मेडिकल कलेज शिक्षण अस्पताल र बैतडी अस्पतालबीच बिशेषज्ञ सेवा सञ्चालनका लागि सम्झौता गर्नुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ । 

अस्पतालमा बिशेषज्ञ सेवाहरु विस्तार गरी सोही अनुसारको दक्ष जनशक्तिको व्यवस्थापन गर्न आग्रह गरिएको छ । यस्तै अस्पतालमा आवश्यक उपकरण, प्रयोगशाला सामग्री लगायतको व्यवस्थापनमा ध्यान दिन आग्रह गरिएको छ । 

अस्पतालमा कार्यरत कर्मचारीको तलबभत्तामा रकम अपुग भएकाले ५० लाख रुपैयाँ विनियोजनका लागि पहल गरिदिन आग्रह गरिएको अध्यक्ष क्षेत्रीले बताए । 

अस्पतालको विकास र स्तरोन्नतिका लागि आफूहरुले पटक–पटक आग्रह गर्दा समेत बेवास्ता गरिएकाले माग पूरा नभए आन्दोलन गर्ने अध्यक्ष क्षेत्रीले बताए । पहाडी जिल्लाका नागरिकहरुको स्वास्थ्य सेवा पाउने अधिकारलाई प्रदेश सरकारले कुण्ठित गरेको भन्दै तत्काल अस्पताल स्तरोन्नतिको निर्णय हुनुपर्ने उनले बताए । 

ज्ञापन पत्र बुझ्दै पूर्व मुख्यमन्त्री रावलले अस्पतालको विकास र विस्तारमा सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरेका अध्यक्ष क्षेत्रीले बताए । 

प्रकाशित मिति: मंगलबार, कात्तिक १७, २०८३  ०८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update