सुदूरपश्चिम प्रदेशसभा बैठकमा कांग्रेसले माग्यो मुख्यमन्त्रीको राजीनामा

कैलाली –सुदूरपश्चिम प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुख्यमन्त्री र मन्त्रीहरूको राजीनामा मागेको छ । चालु आर्थिक वर्षको बजेटमा बेथिति भएको सरकारका जिम्मेवार पदाधिकारीले नै स्वीकार गरिसकेको भन्दै कांग्रेसले नैतिक जिम्मेवारी लिएर राजीनामा दिनुपर्ने माग दोहो¥याएको हो । 

शनिबार बसेको प्रदेशसभा बैठक सुरु हुनेबित्तिकै कांग्रेस प्रदेशसभा सदस्य विक्रमसिंह धामीले बजेटमा बेथिति भएको सरकार, अर्थमन्त्री र सभामुखले समेत स्वीकार गरिसकेको बताए । उनले यस्तो अवस्थामा नैतिक जिम्मेवारी लिएर मुख्यमन्त्री र मन्त्रीहरूले पदबाट राजीनामा दिनुपर्ने धारणा राखे । 

धामीले आफ्नो धारणा राखेपछि कांग्रेसका सांसदहरूले बैठकमा नाराबाजी गर्दै राजीनामाको माग गरेका थिए । प्रतिपक्षी दलको अवरोधपछि प्रदेशसभा बैठक स्थगित भएको छ ।

यसअघि बजेटमा देखिएका विवादित विषय छानबिन गर्न संसदीय समिति गठन गर्ने निर्णय भए पनि कार्यान्वयन हुन सकेको छैन् । गत २७ असोजमा बजेट पारित गर्ने क्रममा सभामुख भीमबहादुर भण्डारीले दलीय प्रतिनिधित्वका आधारमा सात सदस्यीय छानबिन समिति गठन गर्ने घोषणा गरेका थिए । समितिलाई २० कात्तिकभित्र प्रतिवेदन बुझाउने समयसीमा तोकिएको थियो । 

तर, निर्धारित समयसीमा सकिँदासमेत दलहरूबीच सहमति जुट्न नसक्दा समिति गठन हुन सकेको छैन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक २१, २०८३  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update