बैतडी–बैतडीको देहीमाण्डौंमा जारी एबीसी टी–१० क्रिकेट प्रतियोगितामा सेमीफाइनलमा पुग्ने चार टोलीको टुंगो लागेको छ । आज भएका चार खेलबाट सेमीफाइनलमा पुग्ने टोलीको टुंगो लागेको प्रतियोगिता संयोजक लवकुश बोहराले बताए ।
आज सम्पन्न भएका क्वाटरफाइनलका खेलबाट गुरुखोला लायन्स, डिजे वारियर्स, बैतडा र डाँडाबाघ सेमीफाइनलमा प्रवेश गरेका हुन् । बीएस स्पोर्टसको आयोजनामा भइरहेको प्रतियोगिता अन्तर्गत सेमीफाइनलका खेल भोलि हुने आयोजक समितिका प्रकाश बोहराले बताए ।
गुरुखोला लायन्स दुर्गाभवानीलाई ७२ रनले पराजित गर्दै सेमीफाइनलमा पुगेको हो । यस्तै डिजे वारियर्स शिवशक्तिलाई ९ विकेटले पराजित गर्दै सेमीफाइनलमा पुगेको हो भने बैतडा जेएवाइसी थालिगडालाई ६२ रनले हराउँदै सेमीफाइनलमा पुगेको हो ।
प्रतियोगितामा सेमीफाइनलमा पुग्ने अर्को डाँडाबाघ रहेको छ । डाँडाबाघले रोयल किंग्सलाई ९७ रनले पराजित गर्दै सेमीफाइनलमा स्थान सुरक्षित गरेको हो ।
यही कार्तिक १५ गतेदेखि शुरु भएको प्रतियोगितामा २० टीमको सहभागिता छ ।
प्रतियोगितामा प्रथम हुने टीमलाई नगद १ लाख १ सय ११ सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ भने दोश्रो हुने टीमलाई नगद ३३ हजार ३ सय ३३ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा म्यान अफ दि सिरिजलाई ७ हजार ५ सय नगदसहित ट्रफी र प्रमाण पत्र प्रदान गरिनेछ । यस्तै बेस्ट ब्याट्सम्यानलाई ५ हजार एक सय नगदसहित ट्रफी र प्रमाण पत्र, बेस्ट बलरलाई ५ हजार एक सय नगदसहित ट्रफी र प्रमाण पत्र र उदयीमान खेलाडीलाई ३ हजार १ सय नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता संयोजक बोहराले बताए ।
प्रतियोगिता कार्तिक २३ गतेसम्म सञ्चालन हुनेछ ।




