काठमाण्डौ – मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा एकै परिवारका ६ सहित १४ जनाको मृत्यु भएको छ । अरू ६ जना घाइते भएका छन् ।
काठमाण्डौबाट सर्लाही जाँदै गरेको विद्युतीय माइक्रोबस आज बिहान मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ चिसापानीगढीमा सडकबाट झन्डै ७०० मिटर तल झरेको हो ।
माइक्रोबसमा चालकसहित २० जना सवार रहेका पाइएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलकी पुनम रायसहित उनको परिवारका ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरपुरटोलका २५ वर्षीय सुवेक यादव, ८ वर्षीया शिक्षा यादव, ४ वर्षीया दीपिका कुमारी यादव, २५ वर्षीय सुबोध यादव, ११ वर्षीया अनु राय यादव, १५ वर्षीय रोहन यादव, २७ वर्षीय राम दुलार राय यादव, ३० वर्षीय गुड्ड राय यादव, २७ वर्षीया गायत्री देवी यादव र २७ वर्षीया पुनम यादव रहेका छन् ।
त्यस्तै चालक सर्लाहीको कविलासी नगरपालिका–८ का ३० वर्षीय रवि शङ्कर कुमार मण्डलको पनि दुर्घटनामा मृत्यु भएको छ । ३ जनाको पहिचान खुल्न बाँकी छ ।
दुर्घटनामा घाइते भएका ६ मध्ये ३ जना उपचारपछि हेटौँडा अस्पतालबाट डिस्चार्ज भएका छन् भने ३ जनालाई थप उपचारका लागि चितवन रिफर गरिएको छ ।




