आस्थाको धरोहर रौलाकेदार धाम, कार्तिक शुक्ल सप्तमी र अष्टमीमा हुन्छ जात्रा

बैतडी–बैतडीको प्रसिद्ध रौलाकेदार धामको जात्रा यही कार्तिक ३० र मंसिर १ गते हुने भएको छ । हरेक बर्ष कार्तिक शुक्ल सप्तमीको दिन भण्डार घरबाट धाममा देउरो लैजाने र कार्तिक शुक्ल अष्टमी अर्थात गोपाष्टमीको बिहान पूजा लाग्ने मन्दिरका मूल पूजारी विष्णुदत्त भट्टले बताए । यो बर्ष गोपाष्टमी मंसिर १ गते परेको छ । 

रौलाकेदार धामको भण्डार घर सुर्नया गाउँपालिका–५ मड भन्ने स्थानमा रहेको छ । सोही भण्डारबाट भोलि देउरो लगिने पूजारी भट्टले बताए । बाजागाजासहित श्रद्धालु देउरोसहित जात्रामा सहभागी हुने गरेका छन् । 

सप्तमीको राति रौलाकेदार धाममै जाग्राम बस्ने, भजनकिर्तन गर्ने परम्परा रही आएको छ भने अष्टमीको बिहान रौलाकेदारको पूजाआजा गर्ने परम्परा रही आएको छ । 

रौलाकेदारको पूजाआजा पछि नजिकै रहेको मानाकोट भगवतीमा पनि पूजाआजा गर्ने प्रचलन रहेको पूजारी भट्टले बताए । 

समुद्री सतहबाट २ हजार ९ सय मिटर बढी उचाईमा रहेको रौलाकेदार धाममा धार्मिक पर्यटहरुको अगाध श्रद्धास्थलको रुपमा रहेको स्थानीयहरुले बताएका छन् । 

रौलाकेदारको उत्पत्ति बद्रीकेदारबाट भएकाले रौलाकेदारको महत्व बद्रीकेदार जत्तिकै रहेको पूजारी भट्टले बताए । रौलाकेदारको दर्शन गरेमा मनोकामना पूर्ण हुने भएकाले सबैको आस्थाको केन्द्र बन्न पुगेको उनले बताए । उनले भने ‘रौलाकेदार अद्भुत शक्ति भएको धाम हो । रौलाकेदारको दर्शन गरेमा मनोकामना पूर्ण हुन्छ । त्यसैले दर्शन गर्न आउनेको संख्या पनि बढ्दै गएको छ ।’

भगवान शिवका १२ ओटा ज्योतिर्लिङ्ग मध्ये रौलाकेदार पनि एक रहेको जानकारहरुले बताएका छन् । नेपालका प्रथम ऐतिहासिक जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले रौलाकेदार नै केदारनाथ ज्योतिर्लिङ्ग भएको दाबी गरेका छन् । पूराणमा वर्णित केदारनाथ ज्योतिर्लिङ्ग रौलाकेदार भएको उनको दाबी छ । पौराणिक रावलाद्री पर्वतमा अवस्थित ज्योतिर्लिलिङ्ग नै केदारनाथ भएको उनले बताए । 

रौलाकेदार धाममा पुग्नका लागि बाटो भने अप्ठ्यारो रहेको छ । रौलाकेदारमा पहिला पनेरु राजाको राजदरबार रहेको समेत बताइएको छ । राजाले शासन गर्ने बेला बनाइएका विभिन्न भौतिक संरचनाका अवशेषहरु पनि अझै भेटिने गरेको पूजारी भट्टले बताए । 

अग्लो डाँडोमा रहेको रौलाकेदारको जात्रामा बैतडीका मात्रै नभएर अन्य ठाउँका दर्शनार्थी समेत आउने गरेको सुर्नया ४ का रामबहादुर महराले बताए  । रौलाकेदार धाम पुग्नका लागि पदमार्ग मात्रै निर्माण गर्न सक्ने धेरै धार्मिक पर्यटकहरुलाई भित्र्याउन सकिने उनले बताए । 

रौलाकेदारको दर्शनका लागि हजारौं दर्शनार्थीहरु पुग्ने गरेका स्थानीय शिवराज भट्टले बताए । अनुपम प्राकृतिक सौन्दर्यता, धार्मिक शक्ति र स्थानीयहरुको विश्वासको संगम नै रौलाकेदार धाम रहेको उनले बताए । रौलाकेदारको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । 

रौलाकेदार धाममा शिव र शक्ति दुवैको पूजाआजा हुने गरेको पूजारी भट्टले बताए । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक २९, २०८३  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update