हरिबोधनी एकादशीमा हुन्छ ‘कफलखाना गिरेगडा जात्रा’, देउडा कार्यक्रम हुने

बैतडी–बैतडीको पुर्चौंडी नगरपालिका–१ हाटस्थित राताशीला त्रिवेणी धाममा लाग्ने ‘कफलखाना गिरेगडा जात्रा’को अवसरमा देउडा कार्यक्रम हुने भएको छ । 

पुर्चौंडी युथ क्लबको आयोजना र पुर्चौंडी नगरपालिकाको समन्वयमा यही मंसिर ३ र ४ गते देउडा कार्यक्रम हुने बताइएको छ । उक्त देउडा कार्यक्रममा कालिकोटकी चर्चित देउडा कलाकार यशोदा देवकोटा, बझाङका चर्चित देउडा कलाकार सत्यराज जोशी लगायतको सहभागिता रहने पुर्चौंडी युथ क्लबका अध्यक्ष बिरबहादुर गडालले बताए । 

मौलिक कला र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यसहित देउडा कार्यक्रम आयोजना गर्न लागिएको आयोजक पुर्चौंडी युथ क्लबले जनाएको छ । देउडा कार्यक्रममा सहभागिताका लागि सबैलाई अनुरोध गरिएको छ । 

राताशीला महादेव मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल दशमी र हरिबोधनी एकादशीको दिन भव्य जात्रा लाग्ने गर्दछ । यो जात्रामा गीर(भकुण्डो) खेल्ने चलन रही आएको छ । 

कार्तिक शुक्ल दशमीको राति र हरिबोधिनी एकादशीको दिन राताशीला मन्दिरमा जात्रा लाग्ने गरेको स्थानीय डम्मर कुँवरले जानकारी दिए । कफलखाना गिरेगडा जात्राको नामले परिचित राताशीला मन्दिरको जात्रामा हजारौंको सहभागिता रहने गरेको उनले बताए । 

उक्त जात्रामा बैतडीका मात्रै नभएर विभिन्न स्थानका दर्शनार्थीहरु पुग्ने गरेका छन् । कफलखाना गिरेगडाको जात्रामा छालाको गीर अर्थात भकुण्डो खेल्ने चलन रही आएको छ । 

राताशीला देवताका धामी काँपेर भकुण्डो फालेपछि स्थानीयहरुले गीर खेल्ने गरेको कुँवरले बताए । रौत र टिकट दुई समूहमा विभाजन भएका स्थानीयहरुले आफ्नोतिर गीर लग्नका लागि बल गर्ने गरेका छन् । जसको समूहले भकुण्डो लग्न सक्यो उसैको जित भएको मानिने चलन रही आएको छ । 

राताशीला महादेव मन्दिरमा रैकाल जातिले पूजाआजा गर्ने र सबैले प्रसाद ग्रहण गर्ने चलन रही आएको छ । राताशीला मन्दिरमा लाग्ने कफलखाना गिरेगडा जात्रालाई सामाजिक सदभावको जात्राको रुपमा लिने गरिएको स्थानीय करनप्रसाद भट्टले बताए । 

प्रकाशित मिति: आइतबार, कात्तिक २९, २०८३  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update