त्रिपुरासुन्दरीको ‘ठूली जात’ आज, दशरथचन्द नगरपालिकामा बिदा

बैतडी–बैतडीको दशरथचन्द नगरपालिका–८ स्थित प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा आज ‘ठूली जात’ लाग्दैछ । हरेक बर्ष कार्तिक शुक्ल नवमीको दिन मन्दिरमा जात्रा लाग्ने गरेको त्रिपुरासुन्दरी मन्दिर क्षेत्र विकास समितिका सचिव गणेशसिंह थापाले बताए । 

मन्दिरमा हिजो कार्तिक शुक्ल अष्टमीको दिन जात्रा शुरु भएको हो । हिजो दिनलाई नानी जात भन्ने चलन रही आएको छ । 

आज मन्दिरमा पशु बलि दिने प्रचलन समेत रही आएको छ । राँगा र बोकाका बलि दिने प्रचलन रही आएको थापाले बताए । 

आज बिहान मन्दिरबाट भगवतीको सवारी कापडीगाउँमा गराइन्छ । उक्त समयमा हजारौं भक्तजनको सहभागिता रहने गर्दछ । त्रिपुरासुन्दरी भगवतीको जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत पुगेका छन् । 

यसैबीच दशरथचन्द नगरपालिकाले आज स्थानीय सार्वजनिक बिदा दिएको छ । त्रिपुरासुन्दरी मन्दिरमा लागेको जात्राको अवसरमा आज नगरपालिका मातहतका सबै सरकारी कार्यालय, गैरसरकारी निकाय, शिक्षण संस्था लगायतमा सार्वजनिक बिदा रहेको नगरपालिकाले जनाएको छ । 

यस्तै त्रिपुरासुन्दरीको जात्रामा सहभागी हुने भक्तजनहरुका लागि एक जना युवा समाजसेवीले निशुल्क १० ओटा गाडीको व्यवस्था गरेका छन् । 

जिल्लाको दशरथचन्द नगरपालिका–४ विनासौं घर भएका युवा समाजसेवी एस.पी. भट्टले भक्तजनहरुका लागि निशुल्क गाडीको व्यवस्था गरेका हुन् । सतबाँझ, देहीमाण्डौं, गोठलापानी, जोशीबुङ्गा र झुलाघाटबाट त्रिपुरा मन्दिरंसम्मका लागि निशुल्क गाडीको व्यवस्था गरिएको भट्टले बताए । 


 

प्रकाशित मिति: बुधबार, मंसिर २, २०८३  ०७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update