बैतडी –बैतडीको पुर्चौंडी नगरपालिकाले बिहीबार र शुक्रबार दुई दिन स्थानीय सार्वजनिक बिदा दिएको छ ।
नगरपालिकाको वडा नं १ हाटस्थित राताशीला त्रिवेणी धाममा लाग्ने कफलखान–गिरेगडा जात्राको अवसरमा दुई दिन बिदा दिएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
यो बर्षको कफलखाना–गिरेगडा जात्रा यही मंसिर ३ र ४ गते परेको छ । कार्तिक शुक्ल दशमीका दिन जात्रा शुरु भइ कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशीका दिन जात्रा समापन हुने गर्दछ ।
कफलखाना–गिरेगडा जात्रामा स्थानीयहरुको उल्लासयम सहभागितालाई दृष्टिगत गरेर नगरपालिकाले बिहीबार र शुक्रबार बिदा दिएको जनाएको छ । उक्त दिन नगरपालिका मातहतका सबै सरकारी कार्यालय, गैरसरकारी निकाय, शिक्षण संस्था लगायतमा बिदा रहने बताइएको छ ।
कफलखाना–गिरेगडा जात्रा पुर्चौंडी क्षेत्रकै महत्वपूर्ण जात्रा रहेको छ । यो जात्रामा हजारौं दर्शनार्थीहरुको सहभागिता रहने गर्दछ । कफलखाना–गिरेगडा जात्राको अवसरमा देउडा कार्यक्रम समेत आयोजना गरिएको छ ।





