सकियो त्रिपुरासुन्दरीको जात्रा, हजारौंले गरे दर्शन

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका–८ स्थित प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा लागेको जात्रा आज समापन भएको छ । 

यो मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल अष्टमी र नवमीका दिन जात्रा लाग्ने गर्दछ । यो जात्रामा नेपाल र भारतका हजारौं दर्शनार्थीहरुले दर्शन गरेको त्रिपुरासुन्दरी मन्दिर क्षेत्र विकास समितिका सचिव गणेशसिंह थापाले बताए । 

त्रिपुरासुन्दरी भगवतीको जात्रामा सीमावर्ती भारतीय दर्शनार्थीहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो । यो जात्रामा हरेक बर्ष भारतीय दर्शनार्थीहरु आउने गरेका छन् । 

त्रिपुरासुन्दरीको जात्रामा यो बर्ष ६० राँगा र १ सय बढी बोकाको बलि चढाइएको छ । यो जात्रामा पशु बलि दिने चलन रही आएको छ । 

आजको दिनलाई स्थानीय भाषामा ठूली जात भन्ने चलन रही आएको छ । आज बिहान मन्दिरबाट कापडीगाउँमा भगवती सवारी गराएपछि फेरि मन्दिरमै सवारी गराउने परम्परा रही आएको छ । 

मन्दिरमा आज भगवतीको बिशेष पूजाआजापछि प्रसाद वितरण गर्ने प्रचलन रही आएको छ । त्यसपछि आजै भण्डारघरमा भण्डार लगिएको सचिव थापाले बताए । 

त्रिपुरासुन्दरी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । टाढाका दर्शनार्थीहरु भाकलसहित मन्दिरमा पुग्ने गरेका थापाले बताए । यो बर्षको जात्रामा अन्य बर्षभन्दा धेरै दर्शनार्थीहरुको सहभागिता रहेको थियो । 

त्रिपुरासुन्दरी भगवती मन्दिरमा १४ औं शताब्दीबाट पूजाआजा शुरु भएको विश्वास गरिन्छ । 

प्रकाशित मिति: बुधबार, मंसिर २, २०८३  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update