दार्चुला –दार्चुलास्थित महाकाली नदीमा निर्माण गरिएको नेपाल–भारत जोड्ने मोटरेबल पुल उद्घाटन गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाह र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले महाकाली नदीमाथि बनेको ११० मिटर लम्बाइको मोटरेबल पुल संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।
दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारतको उत्तराखण्डस्थित धारचुला तहसिलको छारछुम जोड्ने यो पुल भारत सरकारको पूर्णआर्थिक सहयोगमा निर्माण गरिएको हो । भारतीय कम्पनी पी एन्ड आर इन्फ्राप्रोजेक्ट लिमिटेडले ३२ करोड ९८ लाख भारतीय रुपैयाँको लागतमा पुल निर्माण गरेको हो ।
दुई वर्षअघि नै निर्माण सम्पन्न भए पनि पुल उद्धाटन भने गरिएको थिएन । पुल सञ्चालनमा आएपछि सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिकलाई भारत आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ ।
विशेषगरी दार्चुला, बैतडी र बझाङका नागरिकलाई लामो समयदेखि झेल्दै आएको जोखिमपूर्ण सीमा आवागमनको बाध्यता हटाउन पुलले सहयोग पुग्ने विश्वास गरिएको छ ।
पुल सञ्चालनका लागि नेपालतर्फ प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालय राख्न अस्थायी संरचना निर्माणको काम भइरहेको छ ।




