बैतडी–बैतडीको सुर्नया गाउँपालिका वडा नं ६ को कार्यालयले आफ्नै नयाँ प्रशासनिक भवनबाट सेवा दिन शुरु गरेको छ ।
आर्थिक बर्ष २०८२÷८३ मा ७६ लाख १० हजार रुपैयाँको लागतमा धर्मदेव निर्माण सेवाले भवन निर्माण कार्य सम्पन्न गरेपछि बुधबारदेखि वडा कार्यालयको नयाँ प्रशासनिक भवनबाट सेवा दिन शुरु गरिएको वडा अध्यक्ष मदनराज अवस्थीले बताए ।
सुर्नया गाउँपालिका वडा नं ६ को आठ कोठे नयाँ प्रशासनिक भवनको उद्दघाटन भएसँगै उक्त कार्यालयबाट सेवा सञ्चालन गरिएको हो । वडाको आफ्नै नयाँ भवन बनेपछि सेवा प्रदानमा सहजता भएको वडा अध्यक्ष अवस्थीले बताए ।
पुरानो गाविस भवन भएकै ठाउँमा वडा कार्यालयको नयाँ भवन निर्माण गरिएको हो । स्थानीय शंकरदत्त अवस्थीले ५ रोपनी ९ आना जमीनदान गरेपछि वडा कार्यालयको भवन निर्माण गरिएको थियो । वडा कार्यालयको नयाँ भवन उद्दघाटनकै दिन जग्गादाता अवस्थीलाई वडा कार्यालयकातर्फबाट सम्मान गरिएको वडा अध्यक्ष अवस्थीले बताए ।
वडा कार्यालयको नयाँ प्रशासनिक भवनबाट सेवा शुरु भएपछि सेवाग्राहीलाई समेत सहज हुने गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । नागरिकलाई सहज रुपमा सेवा प्रदान गर्नका लागि भौतिक संरचना पनि आवश्यक रहेकाले नयाँ भवन निर्माणले सेवा प्रवाहमा सहयोग पुगेको अध्यक्ष कुँवरले बताए ।
वडा कार्यालयको नयाँ भवनबाट सेवा सञ्चालन भएपछि वडाबासीलाई सहज हुने सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद आचार्यले बताए ।
वडा कार्यालयको भवन निर्माण भएर सेवा सुचारु भएको भएपनि कर्मचारीको अभाव भने कायमै रहेको वडा अध्यक्ष अवस्थीले बताए । वडामा सचिवको दरबन्दी समेत रिक्त हुँदा सेवा प्रवाहमा समस्या भएको उनले बताए ।




