Sagun Khabar
बैतडीका गाउँगाउँमा ज्वरोका बिरामी, परीक्षण छैन् 
फोटो :श्वासप्रश्वासमा समस्या आएपछि मृत्यु भएका पुर्चौंडीका एक शिक्षकको शवलाई मसानघाटमा लगिँदै  

बैतडी –जिल्लाको पुर्चौंडी नगरपालिकाका एक जना शिक्षकको अस्थायी कोरोना अस्पताल पुर्चौंडीबाट थप उपचारका लागि रेफर गर्दा बाटोमै मृत्यु भयो । केही दिन अघिबाट थलिएका ती शिक्षकमा ज्वरोका साथै श्वाप्रश्वासमा समस्या आएपछि सोमबार साँझ उनको मृत्यु भएको हो । गाउँगाउँमा ज्वरोका कारण एक महिनाको अवधिमा पुर्चौंडी मात्रै १०÷१२ जनाको ज्यान गईसकेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले बताए । उनले भने ‘गाउँगाउँमा ज्वरोका बिरामी छन् । उनीहरुमा कोरोनाका जस्तै लक्षण छन् । तर परीक्षण हुन सकेको छैन् ।’

ज्वरोका बिरामीहरुमा कोरोनाका जस्तै लक्षण भएपनि उनीहरुको परीक्षणमा नगरपालिकामा समेत चासो देखाएको छैन् । ‘एन्टीजेन कीट छैन् । स्वास्थ्य संस्थाहरुमा सिटामोलको अभाव छ । पीसीआर गर्न स्वाब संकलनका लागि समेत केही गर्न सकिएको छैन् ।’स्वास्थ्य शाखा प्रमुख कुँवरले भने, ‘हामी स्वास्थ्यकर्मीहरु अहिले निरीह अवस्थामा छौं । स्वास्थ्य संस्थाहरुमा औषधिको पनि अभाव छ ।’

स्वास्थ्य सन्देश
Atrya hospital

पुर्चौडी नगरपालिकाले सञ्चालन गरेको अस्थायी कोरोना अस्पतालमा अहिले तीनजना भर्ना छन् । तर गाउँगाउँमा ज्वरोका बिरामी बढ्दै गएका छन् । ‘कोरोनाका बिरामीहरुका लागि सरकारले केही गर्दैन भन्ने मानसिकता र कोरोना बिरामीहरुलाई विभेद गर्ने कारणले उनीहरु खुलेर समेत आउन सकेका छैनन् ।’स्वास्थ्य प्रमुख कुँवरले भने

पुर्चौंडी मात्रै नभएर जिल्लाका अन्य स्थानीय तहमा पनि ज्वरोका बिरामी बढेका छन् । ज्वरो आउने, टाउको दुख्ने, झाडापखाला लाग्ने लगायतका लक्षण भएका बिरामीहरु गाउँभरी रहेका सुर्नया गाउँपालिका ४ रामबहादुर महराले बताए । उनले भने ‘गाउँभरी ज्वरोका बिरामी बढ्दै गएका छन् । कोरोनासंग मिल्दोजुल्दो लक्षण भएका बिरामीहरुको संख्या बढेको छ ।’

गाउँपालिकाका विभिन्न स्थानमा ज्वरोका बिरामी बढेको खबर आएको र कोरोना परीक्षणको काम शुरु गरिएको सुर्नया गाउँपालिकाका स्वास्थय शाखा प्रमुख रामसिंह महराले बताए । उनले भने ‘ज्वरोका बिरामीहरुको स्वाब संकलन गर्ने काम शुरु भएको छ । एन्टीजेन विधिबाट पनि हामीले कोरोना परीक्षण गरिरहेका छौं । भारतबाट फर्केका र ज्वरोका लक्षण देखिएकाहरुको परीक्षण गरिरहेका छौं ।’

यस्तै पञ्चेश्वर गाउँपालिकाका विभिन्न स्थानमा पनि ज्वरोका बिरामी बढेका गाउँपालिकाका कर्मचारी नारायणराम सार्कीले बताए । उनले भने ‘गाउँगाउँमा ज्वरोका बिरामी छन् । बिरामीहरुको संख्या बढ्दै गएको छ ।’

ज्वरोका बिरामीहरुले कोरोना परीक्षण गराउन आवश्यक रहेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए । कोरोनाको जस्तै लक्षण भएका धेरै बिरामी भएकाले उनीहरुले पीसीआर परीक्षण गराउनुपर्नेमा उनले जोड दिए । उनले भने ‘अहिले कोरोना भाईरसको महामारीको दोश्रो लहर चलेको छ । ज्वरो आएका बिरामीहरुमा अन्य रोग पुष्टि नहुँदा सम्म कोरोना भएको हुन सक्छ । त्यसैले सकेसम्म पीसीआर परीक्षण गराउन म आग्रह गर्दछु ।’

प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update