Sagun Khabar
आस्थाको केन्द्र पाताल भुवनेश्वर धाम 

बैतडी –जिल्लाको सुर्नया गाउँपालिका २ स्थित पाताल भुवनेश्वर धाम प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पातालभुवनेश्वर धामका बारेमा जानकारी गराउन नसक्दा ओझेलमा पर्दै गएको सुर्नया २ का मोहनबहादुर बिष्टले बताए । उनले भने ‘पातालभुमेश्वरको ऐतिहासिक र धार्मिक दुवै महत्व छ । तर यसको महत्वका बारेमा कसैलाई बुझाउन सकिएको छैन् ।’

चारैतिर वनजंगलले घेरेको बीचमा प्राकृतिक ताल रहेको पातालभुमेश्वरमा एउटा मुख्य गुफा र अन्य चारओटा गुफा रहेका स्थानीय जानकारहरुले बताएका छन् । सडकबाट झण्डै आधाकिलोमिटरको दुरीमा रहेको पातालभुवनेश्वरधाममा अझै सडक पुग्न सकेको छैन् । ‘पातालभुमेश्वरको महिमाको बारेमा सबैले थाहा पाउन सकेका छैनन् । यसको प्रचारप्रसारका लागि सरकारी तर्फबाट कुनै पहल भएको छैन् ।’स्थानीय भजन बिष्टले भने, ‘प्रकृतिको अनुपम उपहारको रुपमा रहेको पातालभुवनेश्वरधामको विकासका लागि सरकारी पक्षबाट पनि पहल हुनु उत्तिकै आवश्यक छ ।’

स्वास्थ्य सन्देश
Atrya hospital

२०७२ सालमा जर्मन गुफा बिशेषज्ञहरुको टोलीले गरेको अध्ययन अनुसार पातालभुवनेश्वरगुफा दक्षिण एसीयाकै लामो गुफा हुन सक्ने अनुमान गरेको थियो । ‘गुफा बिशेषज्ञहरुको टोली ३५ सय मिटर सम्म पुगेको थियो । त्यो भन्दा अगाडि उनीहरुले पनि जान सकेनन् ।’पत्रकार लक्ष्मीदत्त पाण्डेयले भने, ‘गुफाको बारेमा मात्रै प्रचारप्रसार गर्न सकियो भने धेरै पर्यटक भित्र्याउन सकिन्छ । पातालभुवनेश्वरधाममा पुग्ने सडक मात्रै निर्माण गर्न सके धेरै पर्यटक भित्र्याउन सकिन्छ ।’

पातालभुवनेश्वरधाम अग्लो डाँडोमा अवस्थित भएपनि धाममा कहिले नसुक्ने प्राकृतिक ताल रहेको छ । पछिल्लो समयमा संरक्षणको अभावमा ताल सुक्ने खतरा बढ्दै गएको स्थानीयबासी बताउँछन् । पाताल भुमेश्वरको धामको बारेमा स्कन्द पुराणको हिमवत खण्डमा समेत उल्लेख गरिएको पाइन्छ । भगवान विष्णुले राजा बलिलाई पाताल पठाएको र सोही बेलादेखि पातालभुवनेश्वरनाम रहेको बताईएको छ । यस्तै अर्को प्रसंगमा भगवान शिवले सतीको पार्थिव शरीरलाई बोकेर पृथ्वी घुम्ने क्रममा सतीदेवीको पैताला खसेर पातालभुवनेश्वरशिवशक्तिको रुपमा स्थापित भएको किम्वदन्ती छ । 

पातालभुवनेश्वरधाममा चारओटा गुफा रहेका छन् । चारैतिर जंगल र बीचमा शिवमन्दिर सहितको तालले शोभा बढाएको छ । 

पाताल भुमेश्वर धामलाई पाताल भुवनेश्वर नामले समेत चिन्ने गरिएको छ । पाताल भुवनेश्वरको बारेमा स्कन्द पूराणमा समेत उल्लेख गरिएको संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले बताए । उनले भने ‘पाताल भुवनेश्वर धामको बारेमा पूराणहरुमा समेत वर्णन गरिएको छ । यसको ठूलो महिमा रही आएको छ ।’

मनोकामना पूर्ण हुने जनविश्वास 

पातालभुवनेश्वरधाममा हरेक शिवरात्रीको दिन ठूलो मेला लाग्ने गर्दछ । सो मेलामा जिल्लाका विभिन्न ठाउँबाट दर्शन गर्न आउनेको ठूलो भीड लाग्ने गर्दछ । पातालभुवनेश्वरधामको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको पाटन नगरपालिका खोल्सीका धर्मानन्द भट्टले बताए । उनले भने ‘पातालभुवनेश्वरधामको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास छ । शुद्ध मनले दर्शन गरेमा मनोकामना पूर्ण हुन्छ ।’

शिवरात्रीको मेलाको बेला मात्रै नभएर अन्य समयमा समेत सो धाममा दर्शनार्थीहरु पुग्ने गर्दछन् । तर उचित बाटोघाटो र बसोबासको व्यवस्था नहुँदा समस्या भएको स्थानीयबासी कर्णबहादुर पाण्डेले बताए । उनले भने ‘पातालभुवनेश्वरधाममा पुग्ने दर्शनार्थीका लागि मोटरबाटो र बसोबासको व्यवस्था गर्न सकिए आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिन्छ ।’

प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७८  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update